पोखरा, ८ असार । लायन्स क्लब अफ लेखनाथको आयोजनामा प्राज्ञ नगेन सिंहको आठौँै एकल चित्रकला प्रदर्शनी ‘७ प्रदेश कला प्रदर्शनी’ पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा बुधबार सम्पन्न भएको छ ।
लायन्स अस्पताल लेखनाथको सहयोगार्थ आयोजित नौदिने कला प्रदर्शनी बुधबारसम्म करिब दुई हजारजनाले अवलोकन गरेका छन् । प्रदर्शनीको समापन समारोहमा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकले कला एउटा सिर्जना भएको र सिर्जना गर्ने खुबी कमैमा हुने भएकाले कलाकारको सम्मान गर्नुपर्नेमा जोड दिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् ज्योतिप्रकाश विकले विदेशमा कलाकारको परिश्रमको मुल्य सरकारले दिने र कला प्रदर्शनी हेर्न लामो भीड लाग्ने भएपनि नेपालमा प्रचार प्रसारको कमी हुने गरेको बताए । उनले सरकारले कलाकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
कलाकार नगेन सिंहले यात्राका क्रममा आफू पुगेका जिल्लाको प्राकृतिक र सांस्कृतिक विषयवस्तुलाई समेटेर तयार पारिएका चित्र प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । “नेपालमा सगरमाथा र बुद्ध मात्र होइन अरू पनि चिनाउनुपर्ने धेरै ठाउँ छन्,” उनले भने, “तिनै लुकेका पहिचानलाई उजागर गर्न ७५ जिल्ला भ्रमणमा हिँडेको हुँ, ‘शान्ति, पर्यटन र कला प्रवद्र्धन’ नाराका साथ विश्वको पनि यात्रा गर्ने मेरो सोच छ ।”
कार्यक्रममा पत्रकार तारा चापागार्इं, लायन्स क्लब अफ लेखनाथका अध्यक्ष सूर्यनारायण बराल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, लायन्स क्लब लेखनाथका सदस्य शङ्कर पौडेल, मञ्चका कोषाध्यक्ष सन्दीप पौडेल लगायतले कलाको महत्व सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए । प्रदर्शनीमा सिंहका करिब ५५ वटा चित्र राखिएका थिए ।
आदिवासी जनजातिका ३६० जना प्रशिक्षित
यसैबीच, आदिवासी जनजाति महासङ्घ पोखरा लेखनाथ महानगरपालिकाले आयोजना गरेको उद्घोषण तालिमबाट एकैपटक ३५० जनाभन्दा बढी प्रशिक्षित भएका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा गत जेठ २८ गतेदेखि १० दिनसम्म प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रशिक्षणको बुधबार यहाँ आयोजित समापन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्बन्धित वडाध्यक्ष तथा आदिवासी जनजाति महासङ्घ कास्कीका अध्यक्ष पानबहादुर घर्ती लगायतले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा प्रमुख जिसीले तालिम उपलब्धिमूलक भएको बताउँदै यसलाई व्यावहारिक रुपमा उपयोग गर्न आग्रह गरे । अध्यक्ष घर्तीले तालिमले आदिवासी जनजातिका आवाज जनमानसमा पुर्याउन महत्वपूर्ण सहयोग गर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्घोषण तालिमले व्यक्तिको व्यक्तित्व विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । तालिमको रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र रेडियो अन्नपूर्णका वरिष्ठ कार्यक्रम प्रस्तोता सन्देश श्रेष्ठले सहजीकरण गरेका थिए । रासस
प्रकाशित मिति: ८ असार २०७४, बिहीबार ०९:२२