सुर्खेत, २३ जेठ । जीवन ज्योती मा.वि. गुटुमा कक्षा ४ मा अध्यनरत घायल दर्लामी नियमित कक्षामा आउदैनथे । उनी विद्यालय आउन भनेपछि निकै गाह्रो मान्ने गर्थे र घरपरीवारको जोडले विद्यालयमा आएपनि कक्षा छा्डेर बीचमै भोगर जाने गर्थे घायल । तर आजभोली उनको विद्यालय आउने क्रमले भने निरन्तर पाएको छ ।
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित प्रजनन स्वास्थ्य अन्तर्गत जीवन ज्योती मा.वि. गुटु विद्यालयमा बाल अभियान गठन भएको समुहमा किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धिका साथै जनचेतनामुलक कार्यक्रमको जानकारी दिएपछि घायल दलार्मीको दैनिकीमा परिवर्तन आएको हो । पहिले कक्षा छोडेर बिचमै भाग्ने, विद्यालय नआएर खेल्ने घायल दर्लामी आजभोली प्रत्येक दिन विद्यालय आउने गर्छन र विद्यालयमा भएको अन्य कार्यक्रमहरुमा भाग लिने गर्छन् ।
यस्तै कक्षा ४ मा अध्यनरत अर्की छात्रा यामकली गाहा मगरको पढाई सुरुमा निकै कमजोर थियो । उनी पनि नियमित विद्यालय नआउने र विद्यालयका अन्य कुराहरुमा पनि भाग नलिने गर्थिन । अरुसँग बोल्नै लजाउने र डराउने यामकली आजभोली भने अरुसँग निर्धक्क भएर बोल्न सक्ने भएकी छिन् । आजभोली उनको अन्य क्रियाकलापसँगै पढाईमा पनि धेरै सुधार भएको जिवन ज्योती मा.वि.गुटुमा अध्यापन गराउने शिक्षीका सुमित्रा जोशीले बताइन् । उनले उक्त विद्यालयमा किशोरकिशोरीहरुका लागि गठन गरिएको संस्थाले यामकली र जिवन जस्ता अरु धेरै विद्यार्थीहरुको जिवनमा परिवर्तन ल्याएको बताइन् । यस्तै घायल र यामकली जस्तै अन्य विद्यार्थीहरु कक्षामा शिक्षक नआएको बेलामा अन्य ज्ञानदद्र्धक कुराहरु अर्थात कथा सुनाउने, समाचार सुनाउने जस्ता क्रियाकलापहरु गर्ने गर्छन् ।
यस्तै घायल दर्लामीका बुवा पुर्णबहादुर दलार्मीले पनि वाम संस्थाले किशोर किशोरीहरुका लागि समुह गठन गरेर आफ्नो छोरामा धेरै परिवर्तन आएकोमा वाम संस्थालाई धन्यवाद दिएका थिए । उनले अझै पनि यो कार्यक्रम नसकिएको भए धेरै राम्रो हुने कुरा व्यक्त गरेका छन् ।
यसैगरी यामकलीका बुवा बसन्त गहामगरले पनि वाम संस्थाले आफ्नो छोरीको पढाईसँगै बोल्ने विकासमा नै वृद्धि गरेको भन्दै खुशी प्रकट गरेका थिए । उनले बाल अभियान कार्यक्रम अझै थप्न पनि आग्रह गरेका छन् ।
यसैगरी सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित दौतरी समुहमा आवद्ध भएकी जीवन ज्योती मा.वि. गुटुमा कक्षा ९ मा अध्यनरत सुनिता ढुगांनाले समुह गठनमा आवद्ध भएर आफुले धेरै कुराको जानकारी लिएको बताइन् । पहिला स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्न लजाउने सुनिता आजभोली सबैसँग खुलेर कुरा गर्न थालेको बताउँछिन् । उनले आजभोली विद्यालयमा रजश्वला भएको बेलामा प्याडको व्यवस्था भएको बताइन् । उनले पहिले विद्यालयमा प्याडको व्यवस्था नभएको र अहिले वाम संस्थाद्धारा संचालित प्रजनन् स्वास्थ्य अन्तर्गत समुह गठन गरे अन्तर्गत प्याडको व्यवस्था भएको बताइन् । साथै उनले कक्षामा स्वास्थ्य पढाउने शिक्षिकाले सेनेटरी प्याड बनाउँन सिकाउने गरेको बताइन् ।
यस्तै दौतरी समुहका आवद्ध अर्का छात्र मनिस सापकोटा पनि समुह गठन भए लगत्तै आफुसँगै विद्यालयका पनि धेरै परिवर्तन आएको बताँउछन् । उनले पहिले विद्यालयको बगैचामा भएका फुललाई रजश्वला भएको महिलाले छुए फुल झर्छ जस्ता रुढीवादी परम्परा भएको भन्दै आजभोली किशोर किशोरीहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारीका लागि समुह गठन गरे सँगै त्यसो नहुने गरेको बताए । साथै उनले स्वास्थ्य विषय पढ्ने बेला पहिले पहिले आफुलाई लाज लाग्ने गरेको र आजभोली भने त्यस सम्बन्धी खुलेर कक्षामा सोधपुछ गर्ने र पढ्ने गरेको बताए ।
यस्तै जीवन ज्योती मा.वि. गुटुमै अध्यापन गराउने शिक्षिका पार्वती उपाध्यायले रजश्वला हुँदा पहिले किशोरीहरु एक हप्ता सम्म विद्यालय नआउने गरेको र पढाईमा पनि धेरै कमजोरी हुने गरेको बताउँछिन् । तर आजभोली विद्यालयमा नै प्याडको व्यवस्था हुँदा रजश्वला हुँदा पनि किशोरीहरु नियमीत विद्यालय आउने गरेको र खुलेरै प्याड माग्ने गरेको बताइन् । उनले भनिन् ‘यो सबै वाम संस्थाले गर्दा भएको हो ।’
यसैगरी जीवन ज्योती मा.वि. गुटुका प्र.अ. ओमबहादुर दर्लामीले आफ्नो विद्यालयमा वाम संस्थाको आवद्ध भइ सकेपछि विद्यालयमा धेरै विद्यार्थीहरुमा परिवर्तन आएको बताउँछन् । प्र.अ.दर्लामीका अनुसार वाम संस्थाको आवद्धसँगै विद्यार्थीहरु पहिले भन्दा अहिले नियमित आउने गरेको र अन्य क्रियाकलापमा भाग लिने गरेको जनाए । उनले विद्यार्थीहरुका लागि सहज होस भन्नका लागि नै (वाम) संस्थाले शिक्षकसँगै विद्यार्थीहरुलाई जनचेतनामुलक सँगै प्रजनन स्वास्थ्य सम्बन्धी तालीम दिएको बताए । उनले यसको प्रभावबाट गाउँमा बालविवाह अभियानको थालनी गर्न थालेको बताए ।
उनले (वाम) संस्थाले आफ्नो विद्यालयमा धेरै सहयोग गरेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताएका छन् । यसले गर्दा विद्यालयमा विद्यार्थीहरु सँगै विद्यार्थीहरुका अभिवावकहरुमा पनि जानकारी भएको र यो कार्यक्रमले गर्दा अभिवावपनि निकै उत्साहित भएको प्र.अ. ओमबहादुर दर्लामीले बताए । सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम १ वर्षको मात्रै नभएर यसलाई थप गर्न प्र.अ. दर्लामीले आग्रह गरेका छन् ।
प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार १७:५९