काठमाडौ २२ जेठ । ४०औं प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसद्मा मनोनयन दर्ता गराएका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा झन्डै दुई तिहाइ मत पुग्ने देखिएको छ ।
व्यवस्थापिका–संसद्मा नयाँ प्रधानमन्त्री पदका लागि आइतबार मनोनयन दर्ता गराएका एक्ला उम्मेदवार देउवाको पक्षमा संसद्मा रहेका प्रमुख प्रतिपक्षी एमाले र अन्य केही साना दलका सांसद बाहेकको समर्थन हुने देखिएको हो । योसँगै नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाका पक्षमा झन्डै दुई तिहाइ मत पुग्ने भन्दै जोडघटाउ सुरु भएको छ ।
प्रधानमन्त्री निर्वाचित हुन संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्मा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त हुनुपर्छ । संसद्मा रहेका कुल ५ सय ९३ संसद् संख्यामध्ये प्रधानमन्त्री निर्वाचित हुन २ सय ९७ मत आवश्यक पर्छ ।
प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका कांग्रेस सभापति देउवाको पक्षमा कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८२, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १७, संघीय समाजवादी फोरमका १५, नेकपा संयुक्तका तीन र अन्य साना दलका पाँच गरी कुल ३ सय ६६ सांसद देखिएका छन् । राजधानी दैनिकमा खबर छ ।
यस्तै आफ्ना माग पूरा नभएको भन्दै संविधान जारी हुँदादेखि नै असन्तुष्ट रहँदै आन्दोलनमा रहेको राजपाले समेत कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । २४ सांसद रहेका सो दलको मतसमेत आए देउवाको पक्षमा ३ सय ९० मत पुग्ने देखिएको छ । तर, राजपाले हालसम्म समर्थन गर्ने वा नगर्ने भन्ने आधिकारिक निर्णय भने गरिसकेको छैन । राजपाको समेत समर्थन रहे देउवा संविधानअनुसार प्रधानमन्त्री निर्वाचित हुन आवश्यक पर्नेभन्दा धेरै फराकिलो मतले निर्वाचित हुनेछन् ।
देउवाको विपक्षमा भने नेकपा एमाले, नेकपा माले, नेमकिपा, जनमोर्चा, परिवार दल, बहुजन पार्टी र मधेस समता पार्टी देखिएका छन् । संविधान संशोधनको पक्षविपक्षमा बनेको गठबन्धनअनुसार नै नयाँ प्रधानमन्त्री निर्वाचनमा पनि दलहरू पक्षविपक्षमा देखिएका हुन् । संसद्मा एमालेका १ सय ८१ सांसद छन् भने मालेका पाँच, नेमकिपाका चार, जनमोर्चाका तीन, परिवार दल दुई, बहुजन शक्तिको एक, मधेस समताको एक सांसद रहेका छन् । अन्य केही साना दलका सांसद भने पक्ष वा विपक्षमा रहनेबारे खुलिसकेका छैनन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले कांग्रेस सभापति देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय आइतबार बसेको संसदीय दलको बैठकले गरेको छ । यस्तै राप्रपाको समेत संसदीय दलको बैठकले आइतबार नै देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । तर दुवै दल सरकारमा जाने वा नजाने भन्नेमा भने टुंगोमा पुगिसकेका छैनन् ।
राप्रपाले भने सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गरेर निर्णय गर्न तीन नेता रहने गरी एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरू जयन्त चन्द, दिलनाथ गिरी र कुन्ती शाही सदस्य रहेका छन् ।
संसदीय दलका नेतासमेत रहेका कांग्रेस सभापति देउवाको उम्मेदवारीमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक रहेका छन् भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समर्थन गरेका छन् ।
आइतबार प्रधानमन्त्री चयनका लागि तय भएको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरुद्ध गर्ने भएपछि सभामुख ओनसरी घर्ती मगरले स्थगित गर्दै मंगलबारसम्मका लागि सारेकी छन् । मंगलबारको संसद् बैठक सुचारु भए मंगलबार नै देउवा देशको ४०औं प्रधानमन्त्रीका रूपमा चौथोपटक निर्वाचित हुनेछन् ।
प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार ०६:५३