काठमाडौँ, २१ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म शताब्दी वर्षको अवसर पारेर १० जना स्रष्टालाई सम्मान गरिएको छ ।
तीर्थ स्मृति प्रतिष्ठान, नेपालले आज एक समारोहको आयोजना गरी राष्ट्रकवि घिमिरेसहित १० स्रष्टालाई सम्मान गरेको हो ।
सम्मान पाउनेहरुमा नेपाल सरकारका पूर्व सचिव नरकान्त अधिकारी, संस्कृतिविद् डा जगमान गुरुङ, साहित्यकार प्रा डा इन्द्रविलास अधिकारी, निर्मोही व्यास, राधादेवी देवकोटा, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, शिक्षाविद् श्याम दाहाल, समाजसेवी लक्ष्मी पौडेल र वालुन गीतका प्रबद्र्घक स्व रणबहादुर अधिकारी (मरणोपरान्त) रहेका छन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य, कला र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले ठूलो योगदान पु¥याएको बताए । उनले प्रतिष्ठानले राष्ट्रकविसहित अग्रज प्रतिभालाई सम्मान गरेको भन्दै प्रशंसा गरे ।
उप्रेतीले लमजुङ लोक साहित्यको धनी जिल्ला रहेको भन्दै यसको संरक्षण र संवद्र्धनको खाँचो रहेको बताए ।
पूर्व सहायकमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले प्रतिष्ठानले समाजमा राम्रो काम गरेका अग्रज व्यक्तिलाई खोजेर सम्मान गरेर राम्रो काम गरेको बताए ।
उनले भने –“धर्म कहिल्यै निरपेक्ष हुँदैन यसलाई जोगाउन साहित्य क्षेत्र लाग्नुपर्छ ।” कार्यक्रममा दुई दर्जन कवि कवयित्रीले कविता वाचन गरेका थिए ।
लमजुङको बोराङमा जन्मेर लमजुङको शिक्षा र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका तीर्थराज न्यौपानेको स्मृतिमा विसं २०६७ सालमा तीर्थ स्मृति प्रतिष्ठान स्थापना गरी उक्त प्रतिष्ठानले सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष विजयराज न्यौपाने बताउँछन् । रासस
प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार ०६:४०