गोरखा, २० जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी प्रा डा गोविन्द पोखरेलले निजी आवास तथा सार्वजानिक संरचनाको पुनर्निर्माणको नेतृत्व लिन गोरखाका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
पुनर्निर्माण र पुनःस्थापनाबारे भएगरेका कामकाज र अप्ठेराबारे आज गोरखाको सदरमुकाममा निर्वाचित जनप्रतिनिधिसँग भएको छलफलमा पोखरेलले भूकम्प प्रतिरोधी बलियो घर बनाउने गरी पुनर्निर्माणको नेतृत्व लिन एघार वटै स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।
पोखरेलले भने, ‘निर्वाचित प्रमुख, उपप्रमुखले गाउँवस्ती पुनःनिर्माणको नेतृत्व लिनुहोस् । प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र आर्थिक स्रोतको जोहो गरिदिन्छ ।”
भूकम्पले भत्काएका सबै घर पुनःनिर्माणमा अनुदान दिइने बताउँदै उनले यसअघि अनुदान रकम नपाएर गुनासो गर्नु भएकाको घरघरमा प्राविधिक पुगेर अध्ययन गरी अनुदान रकम दिइने प्रष्ट पारे ।
कार्यक्रममा प्राधिकरणका सदस्य हरिराम पराजुलीले मापदण्ड खुकुलो बनाइएको भन्दै अब छिट्टै दोस्रो, तेस्रो किस्ता वितरण हुने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बर्खाअघि नै पुनःनिर्माणको कामलाई तीव्रता दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए ।
गोरखामा अहिलेसम्म ४९ जनाले तेस्रो किस्ता लिइसकेको तथा तीन हजार ४९३ जनाले दोस्रो किस्ता माग गरेका छन् भने ५४ हजार ४९७ जनाले पहिलो किस्ता रकम बुझेका छन् । रासस
प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार ०७:०६