काठमाडौं, १९ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले रािष्ट्रय गौरवका आयोजनाहरूमा रहेका वर्षौं देखिका अन्योलता हटेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका हुलाकी राजमार्ग, फास्टट्रयाक र ओबीओआरलगायतमा वर्षौंदेखिका अन्योलता चिर्न आफू सफल भएको बताएका हुन् ।
मन्त्री लेखकले तराई मधेसको भाग्य रेखाको रूपमा रहेका हुलाकी राजमार्ग र फास्टट्रयाकमा यो भन्दा अघिको सरकारले पनि प्रमथमिकता दिएको तर, त्यसमा केही अन्योल रहेकाले त्यस्ता अनयोललाई चिर्न आफू सफल भएको दाबी गरे । ‘तराई मधेसको भाग्य रेखाका रूपमा रहेको हुलाकी राजमार्गमा विगतदेखि नै अन्योलता देखिएको थियो । त्यसलाई हामीले विशेष प्राथमिकतामा राख्यौं,’ उनले भने । ‘पूर्व–पश्चिम, उत्तर दक्षिण गरी करिब ८ सय किलो मिटर रहेको सो सडकका लागि आवश्यक बजेटको व्यवस्था गरी त्यसलाई अघि बढाउने पहल ग¥यौं ।’
त्यस्तै सबैको चासोको विषय रहेको र आर्थिक महत्वका साथै सांस्कृतिक तथा समाजिक महव पनि रहेको तराई मधेस जोड्ने फास्टट्रयाकको काम अगाडि बढाउन पनि आफू सफल भएको उनको जिकिर छ । विगतदेखि नै चर्चाका रूपमा रहेको फास्टट्रयाकको कामको जिम्मा पछिल्लो समय नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाको नेतृत्वमा भौतिक मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरूसहित एउटा समिति गठन गरेर सेनालाई जिम्मा लगाइएको छ । जसमा प्राविधिक पक्षको व्यवस्था भौतिक मन्त्रालयले तथा आवश्यक बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्ने भएकाले फास्टट्रयाकको काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको मन्त्री लेखकको भनाइ छ ।
नेपाली सेनाको नेतृत्वमा भौतिक मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीसहित समिति गठन गरेर सेनालाई जिम्मा लगाइएको
छ ।
त्यसैगरी चीन सरकारले अघि सारेको र लामो समयदेखि छलफलमा रहेको वान बेल्ट वान रोड (ओबीओआर)मा पनि हस्ताक्षर भइसेकाले त्यसलाई अघि बढाउने ढोका खुलेको उनको भनाइ छ । ‘ओबीओआर लामो समयदेखि छलफलमा थियो तर मूर्त रूप लिन सकेको थिएन । यस विषयमा चिनियाँ अधिकारीहरूसँग छलफल भएरै यसमा हस्तारक्षर भइसकेछ । अब यो निर्माणका लागि ढोका खुलेको छ,’ उनले भने ।
त्यसैगरी उनले विगतमा मध्यपश्चिम र सुदूरपश्मिका दुर्गम जिल्लाहरूमा सडक योजनाका लागि न्यून बजेट हुने गरेकोमा आफूले त्यसलाई चिर्दै ती जिल्लाहरूमा बजेटको आकार बढाएको दाबी गरे । त्यसैगरी पूर्व–पश्चिम रेलमार्गको काम बर्दिवासदेखि सिमरासम्मको निर्माण कार्य सुरु भइसकेको र अन्य स्थानमा पनि थप अध्ययनको काम भइरहेको मन्त्री लेखको भनाइ छ ।
त्यसैगरी मन्त्री लेखकले अबदेखि कुनै पनि निर्माण व्यवसायीले ठेक्का लिने तर, समयमै काम नसक्ने चुनौती रहेकाले सयममै काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने गरी कानुनको व्यवस्था हुन लागेको बताए । ‘काम समयमा नहुने र गुणस्तरीय नहुने मैले देखेको चुनौती हो । अबदेखि व्यवसायीले समयमै काम नसके कारबाही हुने गरी कानुनी व्यवस्था गर्न लागेका छौं,’ उनले भने ।
प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार ०६:४६