काठमाडौँ, ११ जेठ । सरकारले मुलुकको राष्ट्रिय स्वार्थ र आवश्यकताका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने पुरानो नीतिलाई नै निरन्तरता दिएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो समयको आवश्यकतानुसार परराष्ट्र नीतिमा परिमार्जन गर्दै कार्यान्वयन गरिने बताइन् ।
उनले भनिन्, “छिमेकी मुलुक भारत र चीनलगायत अन्य राष्ट्रसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका आधारमा पारस्परिक हित, समानता, सहयोग र सौहार्दता वृद्धि हुनेगरी अझ सुदृढ पारिनेछ ।”
व्यापार, लगानी, पर्यटन, श्रम तथा प्रविधिका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति सञ्चालन गरी आर्थिक कूटनीतिलाई बढावा दिइने जानकारी दिँदै उनले गैरआवासीय नेपालीको सीप र पुँजी मुलुकको विकासमा लगाउने नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
साथै, उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै गन्तव्य देशहरुसँग द्विपक्षीय सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइने सरकारको नीति भएको पनि उल्लेख गरीन् । रासस
प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहीबार १८:२७