बागलुङ, ५ जेठ । बागलुङ नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का जनक पौडेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी बनेका छन् ।
प्रमुख पदका विजयी पौडेलले ११ एक हजार ६१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठले नौ हजार ३१९ मत ल्याउएका छन् ।
यस्तै, एमाले–राप्रपा–राजमो गठबन्धनबाट उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । खड्काले १० हजार ५२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शकुन्तला शर्माले आठ हजार ७३४ मत प्राप्त गरेकी छिन् ।
बागलुङ नगरपालिकामा एमाले–राप्रपा–राजमो गठबन्धले ११ वटा वडामा समेत विजयी बनेको छ । नेपाली काँग्रेसले भने वडा नं ११, १३ र १४ मा मात्र जित हासिल गरेको छ ।
जैमिनीमा नेपाली काँग्रेस विजयी
जिल्लाको जैमिनी नगरपालिकामा नेपाली काँग्रेस विजयी बनेको छ । पाँच हजार ३५६ मत ल्याएर नेपाली काँग्रेसका इन्द्रराज पौडेल प्रमुख प्रदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले पाँच हजार २५० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने नेकपा (एमाले)का लीला राना विजयी भएकी छिन् । उनले चार हजार ७४० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कौशीलादेवी विकले चार हजार ६४८ मत प्राप्त गरेकी छिन् ।
जैमिनी नगरपालिकाको परिणामसँगै बागलुङका सबै स्थानीय तहको मतगणना सकिएको छ ।
नेपाली काँग्रेस जैमिनीसहित गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा विजय हासिल गरेको छ । नेकपा (एमाले)ले बागलुङ नगरपालिका, बुर्तिबाङ नगरपालिका, काठेखोला गाउँपालिका र बडीगाड गाउँपालिकामा जितेको छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका र राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिकामा विजयी हासिल गरेको छ ।
नेपाली काँग्रेसले चार उपप्रमुख, एमालेले दुई उपप्रमुख, राष्ट्रिय जनमोर्चाले दुई, माओवादी केन्द्रले एक र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपप्रमुख पद जितेको छ । रासस
प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार १२:५२