काठमाडौ २१ जेठ-सरकारको नेतृत्व फेर्नेबारे गत वैशाख २३ मा भएको भनिएको ‘भद्र सहमति’लाई लिएर सत्तारूढ दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबीच किचलो भएको छ ।
प्रधानमन्त्री केपी ओलीले नौ बुँदेबाहेक कुनै भद्र सहमति नभएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै त्यस्तो सम्झौता भएको छ भने लिएर आउन चुनौती दिए । ‘अखबार टेलिभिजनहरूमा सुन्नुभएको होला एउटा गोप्य सहमति भएको छ भन्ने, किन गर्नुपर्यो गोप्य सहमति ?’
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको कार्यक्रममा ओलीले भने, ‘अस्तिका दिन एउटा पत्रिकाले तीन बुँदे सहमति भएको छ भनेर छाप्यो । यदि भएको छ भने त्यो सम्झौता लिएर आए भैगयो नि ।’ कान्तिपुर दैनिकमा खबर छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले भने बजेट पारित भएपछि सरकार फेर्ने समझदारी भएको जिकिर गरेका छन् । राप्रपाको २७ औै स्थापना दिवसमा मंगलबार अध्यक्ष दाहालले बजेटपछि राष्ट्रिय सहमतिको सरकारको आफूले नेतृत्व गर्ने गरी एमालेसँग भद्र सहमति भएको सार्वजनिक रूपमै बताएका थिए ।
माओवादी केन्द्रका नेताहरूका अनुसार यही गठबन्धन कायम राखेर जाने तर सरकारको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि नेतृत्व परिवर्तन गर्ने ‘भद्र समझदारी’ पछि गत वैशाख २३ मा दुई दलबीच नौ बुँदे औपचारिक सहमति भएको थियो ।
माओवादी मात्र नभई कतिपय एमालेकै नेताहरूले पनि सार्वजनिक रूपमा ‘भद्र सहमतिबारे बोल्न थालेपछि सरकार परिवर्तनको बहस बढी तातेको हो ।
नीति तथा कार्यक्रम र बजेट संसद्मा पेस भएर पारित हुने क्रममा रहेकाले सरकारको नेतृत्वको विषय बाहिर आउनु स्वाभाविक भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले कान्तिपुरलाई बताए ।
‘नौ बुँदे सहमति सहमति भएको बेलामा अनौपचारिक भद्र सहमति भएको छ । त्यो समयक्रमसँगै बाहिर आउँछ,’ वरिष्ठ नेता खनालले भने, ‘बजेट पारित भएपछि अनौपचारिक सहमतिको औपचारिकता के हो भन्ने अझ स्पष्ट हुन्छ ।’
प्रधानमन्त्री ओलीले भने कसैले हप्काउँदैमा, तर्साउँदैमा आफूले नछोड्ने बताएका छन् ।
‘प्रधानमन्त्री छाड्नुपर्यो भनेर तर्साउने काम हुँदै छ, हप्काइबाट म तर्सिने मान्छे होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘कोही साक्षी बस्न खोजेका छन्, कोही काँध फेर्ने कुरा गर्छन्, केपी ओलीको काँध थाकेको छैन ।’
केही दिनअघि एमालेकै वरिष्ठ नेता खनालले सहमतिको साक्षी आफूहरू पनि रहेको र काँध फेर्ने सहमति भएको हो भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यही अभिव्यक्तिको ओलीले बिहीबार सार्वजनिक कार्यक्रमबाट जवाफ फर्काए । ‘अहिलेको सरकार सर्वसम्मतिले बनेको होइन । बन्न नदिँदानदिँदै र ढल्न खोज्दाखोज्दै पनि फेरि बनेको सरकार हो,’ प्रधानमन्त्री ओलीले भने ।
जति दिन बाँच्ने हो त्यतिन्जेलसम्म सानका साथ बाँच्ने र सानका साथ मर्ने भन्दै ओलीले देश र जनताको पक्षमा काम गरिराख्ने धारणा राखे ।
‘प्रधानमन्त्री छोडेर मात्र देशले निकास पाउने भए अस्ति नै छोडिहाल्थें नि । अहिले पनि छोड्दिन सक्छु, त्यसपछिको बाटो के ?’ प्रधानमन्त्री ओलीले भने, ‘म जन्मिदै प्रधानमन्त्री भएर जन्मेको होइन र मरेर जाँदा पनि यो पद सँगै जाने होइन, देश र जनताको सेवा गरेका कारण भएको हुँ ।’
गत वैशाख २२ गते तत्कालीन एमाओवादीले कांग्रेसको समर्थन आफ्नो पक्षमा रहेको भन्दै आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएको थियो ।
विशेषगरी द्वन्द्वकालीन मुद्दाहरूमा प्रधानमन्त्री ओली संवेदनशील नभएको भन्दै सरकार नै परिवर्तन गर्ने तयारीमा माओवादी थियो ।
नीति तथा कार्यक्रम र बजेट नै पेस गर्न नपाई सरकार ढल्ने अवस्था आएपछि प्रधानमन्त्री ओलीलगायत एमाले नेताहरूले माओवादीलाई विश्वासमा लिने कोसिस गरेका थिए ।
त्यस क्रममा बजेट पारित भएपछि यही गठबन्धनलाई कायम राख्ने तर नेतृत्व फेर्ने ‘भद्र सहमति’ भएपछि नौ बुँदे औपचारिक सहमतिसहित सरकारले निरन्तरता पाएको थियो ।
‘दुई दलबीच सहमति भएको हो, यसबारेमा हामीले भन्दा पनि एमालेकै नेताहरूले सार्वजनिक रूपमा बोल्नुभएकै छ,’ वनमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने, ‘प्रधानमन्त्री भइरहुन्जेलसम्म भद्र सहमति भएकै हो भन्न प्रधानमन्त्रीलाई पनि गार्हो परेको होला ।’
उनले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच कुराकानी भइरहेको जानकारी दिए । ‘राजनीतिमा तिथिमितिमै चल्ने कुरा त भएन,’ वनमन्त्री सापकोटाले भने, ‘पीएम र सीएमबीच कुरा भइरहेको छ, बजेट पारित हुने प्रक्रिया अघि बढिरहेको छ त्यसपछि धेरै विषय स्पष्ट हुन्छन् ।’
नौ बुँदे सहमतिमा १५ दिनभित्रै द्वन्द्वकालीन घटनासम्बन्धी मुद्दाहरूलाई सहज हुने गरी कानुन संशोधन प्रक्रिया अघि बढाउने भनिएको थियो ।
तर सहमतिको समयसीमा अनुसार प्रगति नभएको भन्दै माओवादीका नेता कृष्णबहादुर महरा लगायतले असन्तुष्टि जनाइरहेका छन् । त्यस्तै संसदीय दलको बैठकमा बजेटकै विषयमा पनि एमालेले एकलौटी गर्न खोजेको भन्दै अवाज उठाउनुले दुई दलबीचको किचलोलाई बल पुर्याएको छ ।
मन्त्रिपरिषद् बैठकमा गएनन् माओवादी मन्त्री
सरकारबारे भद्र सहमतिको किचलो चलिरहेका बेला बिहीबार माओवादी केन्द्रका मन्त्रीहरू पार्टीको पोलिटब्युरोको बैठकमा व्यस्त रहेको भन्दै नियमित मन्त्रिपरिषद् बैठकमै गएनन् ।
माओवादीका तर्फबाट सिँचाइमन्त्री उमेश यादव मात्र बैठकमा पुगे । सरकारको नेतृत्व गर्ने उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत अन्य ७ मन्त्री पार्टीकै बैठक भन्दै सहभागी भएनन् ।
माओवादी मन्त्रीहरूले बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित प्रक्रिया मात्रै भएको, उसमाथि एजेन्डा पनि केही नभएकाले गएको जिकिर गरेका छन ।
‘एजेन्डा केही थिएन, त्यही बढुवालगायत विषय थिए, हामी पार्टीकै बैठकमा लाग्यौं,’ वनमन्त्री सापकोटाले भने, ‘हामी नगएको पोलिटब्युरो बैठकका कारण मात्रै हो, अरू केही छैन ।’
दुई दिनअघि गृहमन्त्री शक्तिबहादुर बस्नेतले सीडीओ सरुवा गरेका थिए । त्यस विषयलाई लिएर प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै सरुवा रद्द गर्न निर्देशन दिनुले पनि एमाले र माओवादीबीचको असमझदारी बढेको हो । यस्तो बेला माओवादी मन्त्रीहरू बैठकमा नजाँदा असमझदारीको आशंकालाई अझ बल मिलेको हो ।
मन्त्री सापकोटाका अनुसार पोलिटब्युरो बैठकबाट उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बैठक एक घण्टा सार्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका थिए । तर साढे ९ बजे सुरु हुने बैठक साढे १० सम्म सार्दा पनि माओवादी मन्त्री नपुगेपछि ओलीले बैठक थालेका थिए ।
स्रोतका अनुसार ओली मन्त्रिपरिषद्को सबैभन्दा छोटो बैठक बिहीबारकै थियो, आधा घण्टा मात्रै । बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पनि पार्टीको बैठकको व्यस्तताकै कारण माओवादी मन्त्रीहरू नआएको जानकारी दिए ।
कांग्रेसको समर्थन ओलीलाई : सुजाता
कांग्रेस नेतृ सुजाता कोइरालाले भने कांग्रेस लगायत सबै दलले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई नै समर्थन गरेर अघि बढ्नुपर्ने बताएकी छन् । प्रधानमन्त्री ओली उपस्थित कार्यक्रममा बिहीबार सहभागी भएकी कांग्रेस नेतृ कोइरालाले यस्तो धारणा राखेकी हुन् ।
‘संविधान बनाउन र नयाँ नेपाल निर्माणका लागि प्रधानमन्त्रीले आँट गर्नुभएको छ,’ नेतृ कोइरालाले भनिन्, ‘जसरी तपाईं (एमाले) हरूले गिरिजाबाबुलाई समर्थन र सहयोग गर्नुभएको थियो त्यस्तै अहिले हामी (कांग्रेस)ले पनि ओलीजीलाई समर्थन गरेर जानुपर्छ, जहिले पनि मै खान्छु मै लान्छु जस्तो गर्नुहुँदैन ।’
प्रकाशित मिति: २१ जेष्ठ २०७३, शुक्रबार ०७:४६