सोलुखुम्बु, ५ वैशाख । एक नगरपालिका र सात गाउँपालिका रहेको सोलुखुम्बुमा स्थानीय तहको प्रमुख पद दाबी गर्ने सरला नाछिरिङ एकमात्र महिला भएकी छन् ।
स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा एक महिला अनिवार्य गरिएको भए पनि नेपाली काँग्रेसकी सरला नाछिरिङ प्रमुख पद दाबी गर्ने महिला बनेकी छिन्। तथापि सोताङ गाउँपालिकाबाट प्रमुखको दाबी गर्ने उनलाई पनि प्रमुख पदको उम्मेदवार बनाउने-नबनाउने टुङ्गो छैन । सो क्षेत्रमा काँग्रेसका पुरुष दाबेदारहरु सशक्त भएकाले उनको पनि उम्मेदवार बन्ने सम्भावना कम रहेको बताइन्छ ।
महिलालाई प्रमुख पदमै उम्मेदवार बनाउने इच्छा पार्टीको भए पनि दाबी नै नआउँदा समस्या भएको नेकपा (एमाले), सोलुखुम्बुका अध्यक्ष मानवीर राई बताउछन् । उनी भन्छन् – “गाउँ कमिटीबाटै सिफारिस भएर आउनुपर्छ । गाउँमै दाबी गर्ने छैनन् । अझै पनि महिला उम्मेदवार खोज्ने पहल भइरहेको छ तर प्रमुखजस्तो पद दाबी नभई खोजेर राख्न पनि मिल्दैन ।”
एमाले जस्तै माओवादी केन्द्रमा पनि प्रमुख पदमा दाबी नै नभएको बताइन्छ । माओवादी केन्द्र सोलुखुम्बुका संयोजक सुरवीर राई भन्छन् – “नेत्री नै नभएको हैन तर प्रमुख पदमा दाबी नै आएको छैन । सायद अन्य दलबाट पुरुष उम्मेदवार भएकाले प्रतिस्पर्धा गर्न नसकिने भनेर होला । एउटै स्थानीय तहमा पाँच-सातजनासम्म पुरुषको दाबी आउँछ तर महिलाको दाबी नै उपप्रमुखमा मात्र आउँछ ।”
काँग्रेसमा पनि हालसम्म दाबी एकजनाको मात्र आएको काँग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत बताउछन् । उनी भन्छन् – “हालसम्म प्रमुखमा सरलाजीको मात्र दाबी आएको छ, उनको पक्षमा दल गम्भीर छ । तथापि अन्य दलको उम्मेदवारअनुसार आफूहरुले पनि अघि सार्नुपर्ने भएकाले प्रतिस्पर्धा गर्न सक्ने नै अघि सार्नुपर्ने बाध्यता छ ।”
जिल्लाका आठवटा स्थानीय तहको प्रमुख पदमा महिलाको दाबी नै नआउनु यसअघि दलहरुले महिलालाई दलको कार्यकारी पदमा नराखेका कारण उनीहरुको क्षमता विकास नभएको र पुरुषसँग प्रतिस्पर्धा गर्न डराएको काँग्रेसकी नेत्री टङ्कीमाया बस्नेत बताउछिन् ।
एमालेकी नेत्री कल्पना राई भने दलले नै महिलाको नाम उपप्रमुखमा मात्र चर्चा गरेका कारण आखिर प्रमुख पदमा टिकट दिँदैनन् भन्ने यकिन भएरै दाबी नभएको बताउछिन्। प्रमुख पदमा दाबी नै आएको छैन भने उपप्रमुखमा पनि दलकै महिला नेत्री नभेटेर दलहरुले शिक्षिका तथा विभिन्न सङ्घसंस्थामा जागिर खाइरहेकालाई अघि सारिरहेका छन् । रासस
प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार १६:५०