डडेल्धुरा, ५ वैशाख । पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् ।
यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारी सिमला, लौका, काँक्रा, तितेकरेला बिक्री गरी मासिक रु २० देखि रु ३० हजारसम्म आम्दानी गरिरहेको बताउछिन्। यस्तै महादेव कृषक समूहका अध्यक्ष जानकी विक कैनी पनि तरकारीकै आम्दानीले परिवार पालिरहेको बताउछन् ।
आलु, काउली, फर्सी, प्याज, बन्दागोभी, सिमला, भिन्डी, काँक्रा, लौका, तितेकरेलातगायत तरकारीखेती गर्दै आएका उनीहरु अन्न बालीबाट वर्षको छ महिना पनि खान नपुग्ने भएकाले घर खर्चदेखि छोराछोरीको पढाइका लागि तरकारीखेतीको भर पर्नुपरिरहेको बताउछन् ।
यहाँका महिला अन्य व्यवसाय छोडेर जमिन भाडामा लिई तरकारीखेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रम सुरु भएपछि तरकारीखेती गर्न सजिलो भएको उनीहरुको भनाइ छ । पोखरालगायत जिल्लाको विभिन्न क्षेत्रका कृषकलाई सिँचाइ तथा तरकारीमा प्राविधिक सहयोग दिइरहेको बहुउद्देश्यीय विकास समाजको अनुकूलन परियोजनाका कृषि प्राविधिक मुकेश साउदले जानकारी दिए ।
किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए । रासस
प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार १३:१५