बझाङ (छान्ना), ३० चैत । लामो समयदेखि स्थानीय तहकोे निर्वाचन हुने भएपछि सदरमुकाम गाउँका चोक तथा चिया पसलदेखि सबै ठाउँमा स्थानीय तहको निर्वाचनको चर्चा हुन थालेको छ । करिब दुई दशक पछि स्थानीय तहको निर्वाचनका लागि सरकारले वैशाख ३१ गतेको मिति तय गरेपछि चुनावी बहस सुरु हुन थालेको हो ।
स्थानीय तहको संरचनाअनुसार यस जिल्लामा १० गाउँपालिका र दुई नगरपालिकामा विभाजन गरेपछि कुन गाउँपालिकामा कुन पार्टीको विजय हुन्छ र कुन उम्मेदवारको चयन हुन्छ भनी बहस भइरहेका छन् । राजनीतिक दल पनि गाउँ, सम्मेलन तथा निर्वाचनमा उम्मेदवारी दिने व्यक्ति छनौट गर्ने तयारीमा व्यस्त छन् । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र तथा सहयात्री नेपाली काँग्रेस भने गाउँ सम्मेलनमा व्यस्त छन् भने प्रमुख विपक्षी दल एमाले पनि निर्वाचन समितिको बैठक सकाएर आफ्नो तर्फबाट गाउँपालिका तथा नगर कार्यपालिकाको उम्मेदवार छान्ने तयारीमा छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी भ्रातृ सङ्घ–सङ्गठनसहित घरदैलो अभियानमा जुटेको नेपाली काँग्रेसका सभापति हर्कजङ्गबहादुर सिंहले भन्नुभयो, “हामी गाउँ सम्मेलनमा जुटेका छाँै गाउँ गाउँ गएर कार्यकर्ता भेटघाटमा समेत तीव्र्रता दिएका छौँ, चुनाव जित्नका लागि धेरै तयारी गर्नुपर्नेछ ।”
“निर्वाचन क्षेत्रीय समितिको बैठक सक्यौँ नेकपा (एमाले)का जयपृथ्वी नगरपालिका प्रमुखका उम्मेदवार सुरतबहादुर सिहंले भन्नुभयो ।” आफ्नो दलपनि गाउँ तथा घरदैलो अभियानमा जाने तयारी गरिरहेको र जिल्ला कमिटीको बैठकसँगै कार्यकर्तासँग भेटघाटमा जुटेको उनले बताए । २०७० सालको संविधान सभाको निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको कडा प्रतिस्पर्धापछि एमालेले विजय हासिल गरेको थियो । जिल्लाभरि एमाले बलियो देखिए पनि थोरै मतान्तरले पराजय भोगेको काँग्रेस पनि त्यति कमजोर भने छैन् ।
नेकपा (माओवादी केन्द्र) पनि प्रतिस्पर्धामा आउने देखिए पनि माओवादी केन्द्रको कुनै त्यस्तो खास क्षेत्र नभएकाले गाउँपालिकाका कुनै वडामा आउन सक्ने जानकारहरु बताउँछन् । पछिल्लो समयमा राजनीतिक दलप्रति स्थानीयवासीको विश्वास खस्किरहेका बेला स्थानीय तहको निर्वाचनले भने थप चासो तथा ऊर्जा थपेको मानव अधिकारकर्मी दीर्घराज उपाध्यायको भनाइ छ । उनी भन्छन्, “स्थानीय निकायको निर्वाचन नहुँदा नेता थन्केका थिए तर अब यसले स्थानीय नेतामा ऊर्जा थपेको छ ।”
विकास निर्माणका काममा खासै चासो नदेखाउने स्थानीय राजनीतिक दलका नेता भने सरकारले स्थानीय तहको मिति सार्वजनिक गरेपछि स्थानीय नेता जनताको प्यारा हुन विभिन्न बाहनाबाजी गरिरहेको चर्चा गर्दै स्थानीयबासी बर्क रोकायाले भने, “नेताहरुले त सधैँ जनताका पीरमर्का बुझ्नुपर्छ चुनाव ताका आएर मात्र हुँदैन ।”रासस
प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार १३:२२