सोलुखुम्बु, २९ चैत । “यो विद्यालयमा रमाइरहेका बालबालिका देख्दा म संसारको सबै खुसी आफूले पाएको महसुस गर्छु, मेरा लागि योभन्दा अर्को स्वर्ग नै छैन”, लुक्ला आधारभूत विद्यालयको प्राङ्गणमा रमाइरहेका विद्यार्थी देखाउँदै बारम्बार यसो भन्ने स्विट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरले सोमबार तिनै रमाइरहेका विद्यार्थी माझ आफ्नो अन्तिम श्वास लिए ।
लुक्ला आधारभूत प्राविका प्रधानाध्यापक विक्रम राजभण्डारीले भक्कानिँदै भने – “हामीले एउटा दातामात्र हैन अभिभावक नै गुमाएका छौँ ।”
आजभन्दा ३२ वर्षअघि लुक्लामा विद्यालय थिएन । हुनेखानेका छोराछोरीलाई पढाउन टाढा पठाउँथे तर लुक्लामा मजदुरी गर्ने तथा स–साना व्यवसाय गर्नेका छोराछोरी पढ्न पाउँदैनथे । यही अवस्था देखेर २०४१ सालमा स्विट्जरल्यान्डको एउटा टोलीले लुक्लामा विद्यालय स्थापना ग¥यो । त्यो टोलीले स्विट्जरल्यान्डमै लुक्ला÷चौँरीखर्क एक्स्पिडिसन स्थापना गरी त्यो विद्यालयलाई निरन्तर सहयोग गरिरह्यो ।
विसं २०४३ बाट सरकारी मान्यता पाएको लुक्ला आधारभूत विद्यालय अहिले सरकारी विद्यालय बनेपनि हालसम्म पनि धेरै सहयोग त्यही एक्स्पिडिसनले गरिरहेको छ । त्यही एक्स्पिडिसनका वर्तमान उपाध्यक्ष ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरले लुक्ला आधारभूत विद्यालयको प्राङ्गणमा भइरहेको भव्य समारोहका बीच संसार छाडेका हुन् । प्रधानाध्यापक राजभण्डारी भन्छन् – “यस विद्यालयमा पढ्ने बालबालिकालाई आफ्नै छोराछोरीजस्ता ठान्ने उनले उनीहरुकै बीचमा संसार त्यागे ।”
प्रधानाध्यापक राजभण्डारीका अनुसार सोमबार विद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेला चलिरहेको थियो । प्रकृतिको अनुपम छटा लुक्लाको सिरानमा रहेको विद्यालयमा विद्यार्थी÷अभिभावक जति खुसी थिए, त्योभन्दा ज्यादा खुसी थिए, ज्याक्युसन । नतिजा प्रकाशन हुँदै गर्दा ज्याक्युसन प्रधानाध्यापक राजभण्डारीसँगै थिए । आज आफ्नो खुसीको सीमा नै नरहेको भन्दै विद्यार्थीको फोटो खिच्दै गर्दा ज्याक्युसन एक्कासि घोप्टो परे, उनलाई तत्काल उठाएर लुक्लामै रहेको पासाङल्हामु निकोलनिकी अस्पताल पु¥याउँदा उनको प्राण उडिसकेको थियो । प्रधानाध्यापक राजभण्डारी भन्छन्, ”खुसी बढ्दै जाँदा उनलाई हृदयघात भयो र त्यही ज्यान गयो । ”
लुक्ला आधारभूत विद्यालयमा भएका भूकम्प प्रतिरोधी १८ वटा कोठा रहेका सातवटा भवन, १६ कोठा भएको शौचालय, छ किलोवाट क्षमताको सोलार सिस्टम र दर्जनौँ कम्प्युटर, सुन्दर आँगन, पुस्तकालय यी सबै लुक्ला÷चौँरीखर्क एक्स्पिडिसनकै देन हो, जहाँ ज्याक्युसन प्रत्यक्ष जोडिएका थिए । सो संस्थाले विद्यालयमा कार्यरत दुई शिक्षकको तलब पनि नियमित उपलब्ध गराइरहेको छ भने विद्यार्थीलाई नियमित विभिन्न सामग्री वितरण गरिरहेको छ, “स्थापना गर्नेदेखि हाल ३८० भन्दा बढी विद्यार्थी रमाइरहेका अवस्थामा पु¥याउने जस त्यही संस्थालाई जान्छ, जसको प्रतिनिधित्व गर्ने उनी पनि एक हुन्” – प्रधानाध्यापक राजभण्डारीले भने । “आफन्तको झैँ ममतामा बाँधिएका ज्याक्युसनको शव सोमबार नै हेलिकप्टरले काठमाडौँतर्फ उडाउँदै गर्दा लुक्लामा सयौँको आँखाबाट आँसुका धारा झरिरहेका थिए” – उनले पीडा पोखे । रासस
प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलवार १२:३२