राजविराज, २९ चैत्र । मानव कल्याण, शान्ति एवम् सद्भावको कामनासहित सप्तरीको छिन्नमस्तास्थित शक्तिपीठ प्राङ्गणमा सोमबारदेखि १० दिवसीय लक्ष चण्डी रुद्रमहायज्ञ सुरु भएको छ ।
शक्तिपीठदेखि करिब १०० मिटर पूर्व–दक्षिणमा ४० हजार वर्गफिटमा बनाइएको विशाल मण्डपमा रहेको यज्ञशालामा अग्नि प्रज्वलन प्रमुख अतिथि पाथीभरा देवी माताले महायज्ञको उद्घाटन गरेका हुन् ।
यज्ञशालामा नेपाल तथा भारतका आचार्य एवम् विद्वान् पण्डितद्वारा पूजापाठ, हवन, श्रीमद्भागवत एवम् देवी भागवत कथा वाचनलगायतका धार्मिक कार्यक्रम हुने बताइएको छ ।
महायज्ञमा तीन हजार ५०० जना पण्डित आउने भनिए पनि विविध कारण त्यति सङ्ख्यामा नआउने भएको बुझिएको छ । महायज्ञमा भारत, हरिद्वारका चारै पीठका आचार्य सहभागी भएका छन् ।
मन्दिर समितिले महायज्ञका लागि २०० स्वयम्सेवक परिचालन गरेको आयोजक समितिले जनाएको छ ।
नेपालमै पहिलो पटक तथा विश्वमा पाँचौँ पटक हुन लागिएको यो महायज्ञमा नेपाल तथा भारतका ख्याति प्राप्त करिब ५० लाख हिन्दू धर्मावलम्बी श्रद्धालु आउने अनुमान गरिएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश एवम् महायज्ञ समितिका संयोजक महाकान्त ठाकुरले बताए ।
महायज्ञको प्रचारार्थ करिब साढे आठ महिना नेपालका ७४ जिल्ला र भारतको विभिन्न राज्यमा रथ यात्राको आयोजना गरिएको थियो । रासस
प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलवार ०९:२३