गुलरिया (बर्दिया), २४ चैत । जिल्लामा सहकारी संस्थाको बचत बढेसँगै ऋण लगानीमा समेत वृद्धि भएको छ ।
जिल्लाका विभिन्न सहकारी संस्थाले चालु आवको आठ महिनामा करिब रु साढे दुई अर्ब बचत गरेका छन् भने करिब रु पौने चार अर्ब ऋण परिचालन गरेका छन् । आव २०७३-७४ को दोस्रो चौमासिकमा सक्रिय अवस्थामा रहेका कृषि, बचत तथा ऋण, दुग्ध उत्पादक, उपभोक्ता, बहुउद्देश्यीय र अन्य गरी कुल ४०५ सहकारीले रु दुई अर्ब ४९ करोड ६६ लाख १८ हजार बचत गरेका हुन् ।
सो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा रु एक अर्ब ४८ करोड २६ लाख २४ हजार बढी भएको डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सहकारीले गत आवमा रु एक करोड ४० लाख बचत गरेका थिए । गत आवको सोही अवधिमा सहकारीले रु एक अर्ब ८२ करोड ऋण लगानी गरेका थिए ।
सहकारीको कुल सेयर पुँजी रु ४६ करोड ४५ लाख १० हजार तथा सेयर सदस्यको सङ्ख्या एक लाख २७ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा रु १९ करोड २३ लाख ६१ हजार सेयर पँुजी रहेको थियो । सेयर सदस्य सङ्ख्या ६४ हजार १८३ जना रहेको थियो ।
चालु आवको आठ महिनामा सहकारीले रु एक अर्ब १६ करोड ८३ लाख ४९ हजार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बाह्य ऋण लगानी गर्नुका साथै रु ४१ करोड २४ लाख ९ हजार जगेडा कोषमा जम्मा गर्न सफल भएका छन् । जिल्लामा सबैभन्दा धेरै ११९ कृषि सहकारी, ८० बचत तथा ऋण, ७३ बहुउद्देश्यीय, १७ उपभोक्ता, १५ दुग्ध उत्पादक र २९ अन्य सहकारी सञ्चालनमा छन् । सात वटा सहकारी एकीकरण हुने तयारीमा रहेको कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार १३:२०