काठमाडौ २४ चैत । कांग्रेस नेतासमेत रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चैत मसान्तपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको लिखित सहमतिअनुसार दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने निधिको भनाइ छ । ‘विगतमा जस्तो जेन्टलमेन सहमति होइन,’ कान्तिपुर टेलिभिजनको कार्यक्रम टफ टकमा कुरा गर्दै निधिले भने, ‘सत्ताको नेतृत्वबारे लुकाउने कुरा छैन, यसपालि सत्ताको अवधि प्रचण्डजीको कति अवधिसम्म, शेरबहादुरजी कति हुने लिखित छ ।’
निधिले स्थानीय तहको चुनाव घोषणा भएको अवस्थामा दाहाललाई वैशाख मसान्तसम्मको अवधि लम्बिएको उल्लेख गरे । वैशाख ३१ तोकिएको निर्वाचन सम्पन्न भएलगत्तै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ । तर, सरकारको नेतृत्वबारे दुई पार्टीबीच असमझदारी भने नभएको उनले दाबी गरे ।
प्रधानमन्त्रीले दुई चरणमा चुनाव गर्न गरेको प्रस्तावलाई सत्ता लम्ब्याउने खेलकारुपमा नबुझ्न निधिको आग्रह थियो । मधेसी मोर्चालाई मनाउन स्थानीय तहको संख्या वृद्धि गरेर दोस्रो चरणमा गर्ने विकल्पबारे छलफल भएको उनले बताए । दुई चरणमा चुनाव हुने अवस्था आए नेतृत्व हेरफेरबारे सहमतिमै निरुपण गरिने निधिले बताए ।
निधिले सरकारमा दोस्रो वरीयताको विवाद रहेको स्वीकार गर्दै प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले २०४६ सालपछिको परिवर्तनपछि संवैधानिकरुपमै त्यसअघिका जिम्मेवारीबारे संशोधन गरेकाले अर्का उपप्रधानमन्त्री कमल थापाभन्दा आफू सिनियर रहेको घुमाउरो जवाफ दिए ।
प्रहरी प्रमुख नियुक्तिमा भएको ढिलासुस्तीले चुनावमा समस्या देखिएको स्वीकार्दै गृहमन्त्री निधिले केही दिनमै आईजीपीको रिक्तता समाधान हुने दाबी गरे ।
सुरक्षाका दृष्टिले चुनावको तयारी पूरा भएको बताउँदै निधिले तर निर्वाचनको वातावरण बनाउन राजनीतिक सहमति चाहिने उल्लेख गरे ।
प्रकाशित मिति: २४ चैत्र २०७३, बिहीबार ०५:५६