जुम्ला, २० चैत । चुनावको चर्चासँगै यहाँ सर्वसाधारण नागरिकमाझ स्थानीयस्तरमा चुनावी बहस हुन थालेका छन् । चुलोचौकोदेखि पाटीपौवा, धारापँधेरा लगायतका सार्वजनिक ठाउँमा कुन पाटीले जित्ने र उसका मतदाता कति भन्ने जोड घटाउ भइरहेको छ । केही भने जित्नेले के गर्छन् र हार बेहोर्नेको अवस्था के हुने भन्ने प्रश्नको उत्तर खोजिरहेका पाइन्छ ।
विभिन्न पार्टीका बैठक, प्रशिक्षण, भेला, आमसभामा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने लहड छ । जिल्लामा दर्ता भएका १४ दलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपासम्मका पार्टीको चुनावी चहलपहल बढिरहेको छ । त्यसमा ठूला तीन दलभित्रको चुनावी दौडधुप निकै बढ्दो छ ।
जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्र दुवैले चन्दननाथ नगरपालिकामा आफू अघि रहेको दावी गरिरहेका छन् । एमाले भने नगरपालिकाको १० मध्ये ३ देखि ४ वडासम्म जित्न सकिने बताउँदै तेस्रो स्थानमा रहेको स्वीकार्छ ।
नेका जुम्लाका सचिव कर्णबहादुर शाहीले कनकासुन्दरी, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकामा पार्टी अग्रपङ्क्तिमा रहेको दाबी गरे । सिंजा गाउँपालिकामा अधिकतम प्रतिस्पर्धी, हिमा, तिला र तातोपानी गाउँपालिकामा दोस्रो र गोठीचौर गाउँपालिकामा तेस्रो स्थानमा रहेको उनको भनाइ छ । जिल्लाभर गरिएको सर्भेक्षणअनुसार जुम्लाबाट संविधान सभामा भाग लिने पूर्व सांसद प्रतिफलविहीन भएर आएको र २०७० को निर्वाचनबाट ललितजङ्ग शाही सहभागी हुँदा काँग्रेस पार्टी नेतृत्वको सरकारबाट संविधान प्राप्त भएको महत्वपूर्ण कामले स्थानीय सरकार काँग्रेसको पक्षमा आउने पूर्ण विश्वास रहेको सचिव शाहीले बताए ।
एमाले जुम्ला जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले नगरपालिकाबाहेक अधिकांश गाउँपालिकामा आफ्नो पार्टीले जित्ने दाबी गर्छन् । “हामी अहिले समृद्ध ६ नं प्रदेशको मूल मुद्दा बोकेर पालिकास्तरीय गतिविधिमा केन्द्रित भएका छौँ, सेल कमिटीसम्मको प्रतिवेदनले एमाले अघि छ” – अध्यक्ष बुढाले भने । उनका अनुसार सबै गाउँपालिकामा एमालेका चुनावी गतिविधि तीव्र गतिमा अघि बढिरहेका छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कुँवरले एक महिनादेखि निरन्तर चुनावी अभियानसँगै पार्टी कमिटी निर्माण र घरदैलो अभियान अघि बढाएको बताए । पार्टीका सबै गाउँ र वडापालिकामा कार्यालय उद्घाटन भइसकेको बताउँदै संयोजक कुँवरले एक नगरपालिकासहित सातवटै गाउँपालिकामा माओवादी केन्द्रको जित सुनिश्चित रहेको ठोकुवा गरे । उनका अनुसार माओवादी केन्द्रमा जनलहर बढिरहेको छ ।
राप्रपाका जिल्ला सचिव श्रीकृष्ण बुढाले चुनावी प्रचारप्रसारमा राप्रपाले राष्ट्र, राष्ट्रियता र सनातन हिन्दू धर्मको नारालाई लिएर जनतामाझ पुगेको बताए । उनले राप्रपाको नेतृत्व र गतिविधिलाई देखेर पछिल्लो समयमा पार्टी प्रवेश गर्नेको हतारो बढेको जनाए । पार्टीका स्थानीय नेता कार्यकता चुनावी माहोल तयार गर्न गाउँ दौडाहामा तल्लीन रहेको सचिव बुढाको भनाइ छ ।
नेमकिपाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले नियमितरुपले चुनाव प्रचारप्रसार भइरहेको बताए । सैद्धान्तिक हिसाबले देश र जनताका लागि नेमकिपा समाजवादी गणतन्त्रका विषयमा नागरिकलाई सचेत गराउँदै आएको उनको भनाइ छ । अध्यक्ष डाँगीले होहल्लाभन्दा कसले जित्छ भन्ने कुरा परिणामले बताउने भएकाले अहिले नै सबै कुरा बोलिहाल्न आवश्यक नरहेको औँल्याए । आफ्नो पार्टीलाई ठूला पार्टीमा व्यक्ति ओहोरदोहोर गर्ने कुराले खासै फरक नपार्ने उनको भनाइ छ । रासस
प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १७:२५