कञ्चनपुर, २० चैत । वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले तयारी तीव्र बनाएको छ ।
बिदाको दिनसमेत कार्यालयका कर्मचारी निर्वाचनसम्बन्धी कार्य गर्नमा व्यस्त रहेका छन् । बिहान ७ देखि राति ९ बजेसम्म निर्वाचनसम्बन्धी कामहरुमा कर्मचारी खटिरहेका छन् । निर्वाचनको कार्यबोझ अधिक भएका कारण बिदाको दिन र कार्यालय समय बाहेकको समयमा समेत कार्य गर्दै आएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिंह भण्डारीले बताए ।
“निर्वाचन शिक्षाका लागि प्रशिक्षकको व्यवस्था गर्ने, तालिम दिने, निर्वाचन केन्द्र, मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन गर्ने, खटिने निर्वाचन अधिकृतको विवरण तयार गर्ने, निर्वाचन सामग्रीको विवरण तयार गर्नेलगायत कार्यलाई अगाडि बढाएका छौँ,” उनले भने ।
वडावडामा राखिएका एक सय ३२ मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयम्सेविका र पूर्वप्राथमिक विद्यालयका शिक्षकलाई परिचालन गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ । यसका लागि मतदाता प्रशिक्षकको छनोटको कार्यलाई अगाडि बढाएको छ ।
मतदाता शिक्षाका लागि छनोटमा पर्नेले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिनेछन् । मतदाता शिक्षाका लागि दुई सय ८३ जना मतदाता शिक्षकलाई खटाउने तयारी गरिएको अधिकृत भण्डारीले बताए ।
मतदाता शिक्षा दिन छनोटमा पर्नेलाई चैत २६ र २७ गते तालिम प्रदान गरी वैशाख २ गतेदेखि कार्य क्षेत्रमा खटाइने उनले बताए ।
निर्वाचनका लागि नौवटा कार्यालय स्थापना गरिने
स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा नौवटा कार्यालय स्थापना गरिने भएका छन् । स्थापना गरिने कार्यालयमा एक मुख्य निर्वाचन अधिकृत र आठजना निर्वाचन अधिकृतसहित नौजनालाई खटाइने भएको छ ।
दुई गाउँपालिका र सातवटा नगरपालिका गरी नौवटा स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरी अधिकृतलाई खटाइने भएको हो । निर्वाचन अधिकृतले सम्बन्धित निर्वाचन कार्यालयबाटै उम्मेदवारको मनोनयन दर्ता गर्ने, उम्मेदवारको सूची प्रकाश गर्ने, दाबी विरोधको सूचना प्रकाशन गर्ने, मनोनयन पत्र जाँच गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, मतदान गराउनेलगायत कार्य गर्ने भण्डारीले बताए ।
उनका अनुसार कञ्चनपुरमा दुई लाख ३१ हजार बढी मतदाता रहेका छन् ।
निर्वाचनमा शान्तिसुरक्षाको व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि म्यादी प्रहरी भर्नाका लागि आवेदन लिने कार्यसमेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार म्यादी प्रहरीका लागि पूर्वप्रहरी, पूर्वनेपाली सेना, पूर्वम्यादी प्रहरी र युवायुवती गरी तीन हजार चार सय ९५ जनाले आवेदन दिएका छन । केही दिनभित्रै छनौटको कार्य प्रारम्भ गरिने जनाइएको छ । रासस
प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १६:५७