पोखरा, १९ चैत । गण्डकी तथा धवलागिरि क्षेत्रमा सञ्चालित घरबास (होम–स्टे) कार्यक्रमको बजारीकरण गर्ने उद्देश्यका साथ यही चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) कास्कीको सहआयोजनामा होमस्टे मार्ट तथा कार्यशाला गर्न लागिएको हो ।
नेपालमा सबैभन्दा बढी होमस्टे गण्डकी र धवलागिरि अञ्चलमा दर्ता रहेको र कास्कीमा मात्र ३७ वटा होम–स्टे दर्ता भई सञ्चालनमा आएका कारण यिनीहरूको बजारीकरणमा सहयोग पुगोस् भन्ने हेतुले पोखरामा मार्ट सञ्चालन गरिएको नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले बताए ।
होमस्टेको क्षमता अभिबृद्धि गर्दै बजारीकरण र व्यावसायिकता बढाउन आवश्यक महसुस गरी मार्टको आयोजना गरिएको होमस्टे मार्ट तथा कार्यशालाका संयोजक समेत रहेका थपलियाको भनाइ छ ।
मार्ट तथा कार्यशालाका सहसंयोक एवम् भिटोफ, कास्कीका अध्यक्ष तारानाथ पहारीले होमस्टेको दर्ता, सञ्चालनलगायतमा देखिएका समस्याको साझा सम्बोधनका लागि सरोकारवालाबीच छलफल गर्ने मञ्चका रुपमा मार्ट रहने जानकारी दिए ।
मार्टमार्फत गण्डकी र धवलागिरि क्षेत्रमा सञ्चलित होमस्टेलाई सहभागी गराई सञ्चालकहरूलाई बजारीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी व्यवहारिक एवम् सैदान्तिक ज्ञान उपलब्ध गराउने लक्ष्य राखिएको भिटोफ कास्कीका महासचिव नवराज अधिकारीले बताए ।
पोखरा र आसपासको क्षेत्रमा पर्यटकको बसाइँ लम्ब्याउन आसपासका क्षेत्रमा सञ्चालित होमस्टेको प्रभावकारिता आवश्यक रहेको अवस्थामा यसको क्षमता अभिवृद्धि, बजारीकरण एवम् व्यावसायिकता बढाउने उद्देश्यका साथ मार्ट तथा कार्यशाला आयोजना गरिनु आफैँमा महत्वपूर्ण कदम भएको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले बताए ।
राज्यले होमस्टेको विकासका लागि निश्चित मापदण्ड तयार गर्नुका साथै यसको नियमितता तथा प्रभावकारिताका दीर्घकालीन सोचका साथ अघि बढ्नु आवश्यक भएको बताउँदै उहाँले यस किसिमका मार्ट तथा कार्यशालालाई निरन्तरता दिइनुपर्नेमा जोड दिए । रासस
प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार १५:५४