बागलुङ, ५ चैत । अशक्त र बेसहारा नागरिकको संरक्षणका लागि यहाँ मानवसेवा आश्रम खुल्ने भएको छ ।
आश्रम सञ्चालनको लागि बागलुङ नगरपालिका– ३ मा पूर्वाधार तयारीको कामअघि बढेको छ । आउदो वैशाख १ गतेबाट सेवा सुरुवात गर्ने स्थानीय व्यवस्थापक ‘सेभ द् युथ’ बागलुङले जनाएको छ ।
मनोरोग, अपाङ्गता, गरिबी जस्ता कारणले सहाराविहीन बनेका नागरिकलाई आश्रय दिइने आश्रमका संयोजक मनिष रायमाझीले बताए । “विभिन्न कारणले घरपरिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने आश्रमको उद्देश्य हो’ संयोजक रायमाझीले भने ।
उहाँका अनुसार त्यस्ता नागरिकलाई आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा उपलब्ध गराइनेछ । समाजका सबै क्षेत्रको सहयोगमा आश्रमको सञ्चालन र व्यवस्थापनलाई अघि बढाइने भएको छ ।
बीसजना राख्न सकिने क्षमताको आश्रम निर्माणको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम सुरु भएको संयोजक रायमाझीको भनाइ छ । ‘युके समाज’ बागलुङले रु ५० हजार, स्थानीय लक्ष्मणश्री परियारले रु १५ हजार र कुँडुले सेवा समाज जापानका अध्यक्ष प्रेम आचार्यले रु ११ हजार आश्रमलाई सहयोग प्रदान गर्नुभएको जनाइएको छ ।
यस्तै, बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र आश्रमका संयोजक रायमाझीका बुबा महेन्द्रसिंह रायमाझीले आजीवन मासिक रु एक हजार आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सबैको सानो–ठूलो सहयोग जुटाएर आश्रम सञ्चालन गर्न लागिएको आश्रमका सदस्य सचिव हरि रुचालले बताए ।
गैरआवसीय नेपाली सङ्घका पूर्व युरोप सह–संयोजक सोम सापकोटाको पहलमा आश्रमको लागि रु तीन लाख सङ्कलन भइसकेको छ ।
मानवसेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका अभियन्ताले जनाएका छन् । रासस
प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार १३:४२