काठमाडौं १९ फागुन । बालुवाटारमा सम्पन्न सत्तारुढ दल र मधेसी मोर्चाका नेताबीचको छलफल निष्कर्षविहीन भएको छ। बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सत्ता गठबन्धन र सत्ता समर्थकको बैठक निष्कर्षविहीन बनेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, ‘बैठक निष्कर्षविहीन भएको छ ।’
बैठकपछि आक्रोश व्यक्त गर्दै ठाकुरले भने, ‘एक हातमा बन्दुक र अर्को हातमा संविधान देखाएर गर्न लागिएको निर्वाचन हामीलाई स्वीकार्य हुँनै सक्दैन ।’
मोर्चाका नेताले प्रधानमन्त्रीलाई संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए तराईंमा तीन दल मात्र नभई ६ दलले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ठाकुरले बैठकमा प्रधानमन्त्री एमाले भएर प्रस्तुत भएको समेत आरोप लगाए ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापले मधेसी मोर्चालाई निर्वाचनपछि मागको सम्बोधन गर्न सकिने बताएका थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ , राप्रपा अध्यक्ष थापा, फोरम लोकतान्त्रिकका विजय गच्छदार, तमलोपाका अध्यक्ष ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, अनिल कुमार झा, राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी थिए।
बैठकमा प्रधानमन्त्रीले सरकारले घोषणा गरेको निर्वाचनको पक्षमा सत्ता गठबन्धको समर्थन खोजेपनि मोर्चाका नेताले संविधान संशोधनबिना निर्वाचन हुनै नसक्ने अडानलाई बुधबार समेत दोहोर्याएपछि वार्ता निष्कर्षविहीन बनेको हो।
प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार ०६:३१