काठमाडौं, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरूले निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेका छन् । मंगलबार बसेको मोर्चाको बैठकले सरकारले माग पूरा नगरेको निष्कर्षसहित आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने निर्णय गरेको हो ।
राजनीतिक दललाई निर्वाचन आयोगले दल दर्ताका लागि बुधबार (आज) सम्मको समय दिएको छ । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मधेसी मोर्चामा आबद्ध राजनीतिक पार्टीले निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय भएको बताए । मोर्चामा आबद्ध संघीय समाजवादी फोरमले भने निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । ‘मधेसी मोर्चाको माग पूरा भएको छैन, माग पूरा नभएसम्म हामी कुनै पनि निर्वाचनमा सहभागी हुँदैनौं,’ यादवले राजधानीसँग भने, ‘संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म हामी निर्वाचनमा सहभागी नै हुदैनौं भनेपछि दल दर्ताको आवश्यकता नै छैन ।’ सरकारले संशोधन विधेयक पारित हुन नसक्ने अवस्था प्रस्ट भएपछि स्थगनको प्रस्ताव गर्दै निर्वाचनबाटै आफ्नो मत अभिव्यक्त गर्न प्रस्ताव गरिसकेको छ । तर, मोर्चाले चुनावमा जनताको मत आफ्नो पक्षमा आउने प्रस्ट नभएपछि पहिला संशोधन पारितको रटान गर्दै आएको छ । सोही कारण संविधान संशोधन परिमार्जनसहित पारित नभएसम्म कुनै पनि निर्वाचनमा मधेसी मोर्चा सहभागी नहुने निर्णय गरेको हो ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म मोर्चा कुनै पनि निर्वाचनमा सहभागी हुनै नसक्ने बताए । ‘परिमार्जनसहित संशोधन विधेयक पारित नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी हुँदैन, निर्वाचन हुन पनि दिँदैनौं,’ सुमनले राजधानीसँग भने, ‘सरकारले बैठकैपिच्छे कुरा फेरिरहेकाले हामी कडा आन्दोलनमा जाने निर्णय पनि गरेका छौं ।’ बैठकले मोर्चाको सचिवालयलाई आन्दोलनका कार्यक्रम तयार गर्न निर्देशन दिएको छ । तमलोपा महासचिव जितेन्द्र सिंहका अनुसार सचिवालय बैठकले आन्दोलनको थप कार्यक्रम ल्याउनेछ । मधेसमा उल्लासपूर्वक मनाइने होली पर्वपछि आन्दोलन सशक्त हुने उनको भनाइ छ । बैठकमा सहभागी एक नेताले मोर्चाको सचिवालयलाई निर्वाचन कसरी बिथोल्न सकिन्छ भन्ने आधारमा आन्दोलनका कार्यक्रम बनाउन निर्देशन दिइएको छ । बैठकले तराई मधेसमा चुनाव हुन नदिन कार्यक्रम केन्द्रित गर्ने निर्णय गरेको हो ।
मधेसी मोर्चामा सात दल रहेका छन् । त्यसमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले आइतबार नै निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । फोरम नेपालले आयोगमा दल दर्ता गराएपछि दल दर्ता नगराएका ६ दलका नेताले बैठकमा आक्रोश पोखेका थिए । बैठकमा फोरम अध्यक्ष यादवबाहेक अन्य ६ दलका अध्यक्ष सहभागी थिए । संघीय समाजवादी फोरमबाट वरिष्ठ नेता अशोक राईलाई फोरमले किन दल दर्ता गराएको भन्ने प्रश्न अन्य नेताहरूले गरेका थिए । ‘संविधान संशोधन नभएसम्म कुनै निर्वाचनमा भाग नलिने भन्दै सबैभन्दा कडा कुरा गर्ने फोरम नेपालले नै किन सरसल्लाह नगरी दल दर्ता गरायो ?’ बैठकमा सहभागी नेताहरूको भनाइ थियो । जवाफमा राईले पार्टी निर्णयअनुसार दल दर्ता गराएको तर फिर्ता लिन सकिने सम्भावना रहेको जवाफ दिएका थिए ।
प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार ०६:४१