पथरी (मोरङ), १२ फागुन । मोरङका सरकारी कार्यालय आपाङ्गता मैत्री नहुँदा अपाङ्गता भएका सर्वसाधारणले सास्ती भोग्नु परेको छ । विभिन्न कामकाज लिएर जिल्ला प्रशासन कार्यालय पुगे पनि अपाङ्गता मैत्री भवन नहुँदा सेवा लिन समस्या हुने गरेको छ ।
विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेहोर्नुपर्छ । उनी मात्र होइन विराटनगरकै खुट्टा नभएका रञ्जित उराव ह्विलचियरको भरमा तलमाथि चढ्न सक्नु हुन्न ।
त्यस्तै, विराटनगर उपमहानगरपालिकामा समेत अपाङ्गता भएकालाई सेवा लिन निक्कै सास्ती हुन्छ । दुई दिनअघि विराटनगर उपमहानगरपालिका पुगेका दृष्टिविहीन पारश कार्की सम्बन्धित कर्मचारी नभेटेर खाली हात फर्किए । उनी मात्र होइन । विराटनगर–१० मोतिराम टोलकी शर्मिला गौतम, रुपा उराव, एक तला चढ्न नसकेर सेवा नलिई फर्किए ।
त्यसैगरी, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय, कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर, मालपोत कार्यलय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी लगायतका कार्यालय अपाङ्गतामैत्री छैनन् ।
सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चारसेवा निर्देशिका, २०६९ जारी गरेको थियो । तर सो निर्देशिका कार्यान्वयन नहुँदा अपाङ्गता भएका सर्वसाधारणका लागि निक्कै समस्या भएको राष्ट्रिय अपाङ्ग महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अध्यक्ष राम कार्कीको भनाइ छ । उनले भने, “सरकारी कार्यालयका भवन अपाङ्तामैत्री नहुँदा समस्या भएको छ ।”
रासस
प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार १२:१७