कञ्चनपुर, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले थारू संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्दिया र कञ्चनपुरमा सङ्ग्रहालय स्थापना गर्न लागिएको बताएका छन् ।
बुधबार कञ्चनपुरको झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शुक्लाफाँटा क्षेत्रीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्नुहुँदै उनले थारू समुदायको लोप हुँदै गएका कला, संस्कृति, रहनसहन, भाषा, वेशभूषा र गहना संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने बताए ।
उनले बर्दियामा चौधरी डगौरा थारूको सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ५० लाख र कञ्चनपुरमा राना थारू समुदायको सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ५० लाख बजेट मन्त्रालयले विनियोजन गरिसकेको बताए ।
स्थानीय कला संस्कृतिको जगेर्ना गर्न सके मात्रै पर्यटकलाई भित्र्याउन सकिने भएकाले सबैले कला, संस्कृति जोगाउनका लागि लाग्नुपर्ने उनले बताए । पर्यटन व्यवसायलाई विस्तार गर्नका लागि शुक्लाफाँटा आरक्षलाई निकुञ्जमा परिणत गरिएको उनले बताए । पुरातात्विक महत्वका मठमन्दिर र प्राचीन इतिहास बोकेका क्षेत्रको संरक्षणका लागिसमेत कार्यक्रम अगाडि बढाइएको उनले बताए ।
स्थानीय निकायको निर्वाचन १९ वर्षपछि हुन लागेकाले देशले धेरै समयपछि जनप्रतिनिधि पाउने राज्यमन्त्री बाँनियाले बताए । संसद्मा पेस गरिएको संशोधन प्रस्ताव संसद्बाटै पास गरेर निर्वाचनका कार्य अगाडि बढ्ने दृढता पनि उनले व्यक्त गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश साउदले विकास निर्माणका कार्यलाई अगाडि बढाई कञ्चनपुरलाई समृद्ध बनाउनका लागि कटिबद्ध भएको बताए । उनले बेलौरी राजमार्ग, जिल्लाको दक्षिणी क्षेत्रको हुलाकी राजमार्ग र दैजी–जोगबुढा सडक कालोपत्रका लागि कार्य अगाडि बढिसकेकाले निर्माणपश्चात् यस क्षेत्रले फड्को मार्ने बताए ।
कार्यक्रममा व्यवस्थापिका–संसद्का सांसद बहादुर सिंह थापा, अब्दुल रज्जाक, पूर्वसंविधान सभाका सभासद् टेकेन्द्रप्रसाद भट्ट लगायतले मेलाको सफलताको कामना गरेका थिए ।
“कृषि, पर्यटन संस्कृति हाम्रो शान, व्यापार प्रवद्र्धन आर्थिक समृद्धिको अभियान’ भन्ने नारासहित झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले बुधबार देखि २१ गते सम्म सञ्चालन गर्ने मेलामा सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने सामग्री, सांस्कृतिक पहिरन, गहना, नृत्य, गीतका साथै हस्तकलाका सामान, कृषिसँग सम्बन्धित औजार, उपकरण, उत्पादन, व्यापारिक वस्तुहरु र मौलिक परिकार राखिएका छन् ।
“मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेका बेदकोट, मुडका, सुनदेवी, घटाल थान, शुक्लाफाँटा, झिलमिला, लालझाडी, मोहना धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको प्रचारप्रसार र पर्यटकलाई यहाँसम्म पुर्याउने उद्देश्य लिई मेलाको आयोजना गरेका छौँ”, झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्र भण्डारीले भने ।
दुई लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा दुईसय ५० स्टल राखिनेछन् । मेला आयोजनाका लागि सङ्घले रु ३९ लाख ८१ हजार पाँचसय ५० खर्च लाग्ने अनुमान गरेको छ ।
रासस
प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार १२:०१