कालीकोट, ५ फागुन । साना सिंचाइ कार्यक्रमले कालीकोटको करिब १ हजार ५ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याइने भएको छ ।
नेपाल सरकार र स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित साना सिंचाइ कार्यक्रमले जिल्लाका विभिन्न स्थानमा आगामी ३ वर्ष भित्र करिब २ सय सिंचाइ योजना सञ्चालन गरी सिंचाइ गर्ने लक्ष्य लिएको हो ।
साना सिंचाइ कार्यक्रम अन्तर्गत निर्माण गरिएको फोइमहादेव गाविस स्थित नाग्मी सिंचाइ कुलो ।
सन् २०१५ देखि सञ्चालन भएको कार्यक्रमले गत वर्ष मात्र १० वटा सिंचाइ आयोजना सम्पन्न गरी करिब ३ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याई २ सय ५० परिवार लाभान्वित भइ सकेको कार्यक्रमका सव इन्जिनियर कमल रावलले बताए । सिंचाइ योजनाको सम्पूर्ण काम उपभोक्ता समिति मार्फत हुने भएकाले स्थानीयलाई रोजगारीस“गै सिंचाइ सुविधा पुगेको रावलको दावी छ ।
यसैबीच साना सिंचाइ कार्यक्रम अन्तर्गत सञ्चालित योजनाको प्रभावकारीका लागि उपभोक्ता समितिको संस्थागत विकास तथा निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम विहीबार मान्ममा सम्पन्न भएको छ । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित साना सिंचाइ कार्यक्रम कालीकोटको आयोजनामा तालिम सञ्चालन भएको हो ।
जल उपभोक्ता समितिको व्यवस्थापन तथा योजना गुणस्तरीय बनाउन एंवम् मर्मत सम्भार सम्बन्धि ज्ञान र सीपमा अभिवृद्धि गरी योजनाको दिगो व्यवस्थापन तथा सञ्चालन र मर्मत सम्भारको कार्ययोजनालाई सुनिश्चित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको साना सिंचाइ कार्यक्रमका सव इन्जिनियर कमल रावलले बताए ।
कालीकोट जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न ६ वटा सिंचाइ योजनाहरुको निर्माण पूर्व उपभोक्ता समितिका ३० जना पदाधिकारीको तालिममा सहभागीता रहेको थियो ।
बुधबार देखि सञ्चालन भएको तालिममा योजनाको गुणस्तर, दिगोपन, योजनाको ब्यवस्थापन, सम्पन्न सिंचाइ आयोजनाको स्थलगत अवलोकन भ्रमण, प्राथमिक उपचार सम्बन्धि सहजिकरण तथा सुशासनका विषयमा साना सिंचाइ कार्यक्रमका कर्मचारीहरुले सहजीकरण गरेका थिए ।
गत आर्थिक वर्षमा २० वटा सिंचाइ योजना मध्ये १० वटा सिंचाइ योजना सम्पन्न गरेको उक्त साना सिंचाइ कार्यक्रमले चालु आर्थिक वर्षमा ३५ देखि ४० आयोजना निर्माण गरी कालीकोटको सात सय हेक्टर जमिनामा सिंचाइ सुविधा पुर्याउने लक्ष्य लिएको सव इन्जिनियर रावलले जानकारी दिए ।
फोटोः साना सिंचाइ कार्यक्रम अन्तर्गत निर्माण गरिएको फोइमहादेव गाविस स्थित नाग्मी सिंचाइ कुलो ।
प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार १९:२७