पछिल्लो समय काठमाडौंमा तस्करीको सुन फेला पर्नु लगभग सामान्य जस्तै बनेको छ । रसुवाको केरुङ नाकाबाट होस् वा हवाई मार्ग हुँदै दुबईबाट आएको नै किन नहोस्, प्रहरी सक्रियताले या तस्करीको सेटिङ नमिल्दा लगातार काठमाडौंबाट सुन बरामद हुँदै आएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट पार भएको ३३ किलो सुन गौशालाको पिंगलास्थानबाट बरामद भएपछि सुन तस्करीको भयावह अवस्था उजागर भएको छ । सुन बरामद भएपछि सुनका भरिया समातिए पनि मालिक को हुन्, अहिलेसम्म प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।
ब्युरोका डीआईजी नवराज सिलवाल तस्करीको सुनबारे अनुसन्धान भइरहेको बताउँछन् । ‘अनुसन्धान भइरहेको छ, दबाब र प्रभावमा नपरी अनुसन्धान सकिएपछि सत्यतथ्य सार्वजनिक हुन्छ,’ उनले भने ।
गत पुस २१ गते संयुक्त अरब इमिरेट्सबाट आएको सुनसहित गोपालबहादुर शाही पक्राउ परेका थिए । शाहीले मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई सुन दिने बताएपछि, प्रहरीले थापा र काफ्लेलाई पनि पक्राउ गर्यो । उनीहरूलाई नै केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
उनीहरूको बयानकै आधारमा भन्सार कार्यालयका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पनि प्रहरीले नियन्त्रणमा लियो । भन्सारका कर्मचारीका बयानका आधारमा प्रहरी प्रधान कार्यालयले विमानस्थलको सुरक्षार्थ खटिएका एसएसपी श्याम खत्रीलाई प्रधान कार्यालय तान्यो । अनुसन्धानकै लागि अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेलाई गृह मन्त्रालय तानियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा गत माघ ९ गते भन्सार कार्यालयका नायब सुब्बा श्याम श्रेष्ठ पनि पक्राउ परे ।
सुनका भरियाका बयानका आधारमा भन्सार कर्मचारीलाई पक्राउ गरेको सीआइबीले सुन तस्करमा संलग्न पहुँचवालालाई भने पक्राउ गर्न सकेको छैन । प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको भए पनि ठूलो परिमाणको सुन बरामद भएपछि मोबाइल व्यापारीदेखि मिडिया मालिक र मन्त्रीसम्मलाई सुन मालिकका रुपमा शंका गरिएको थियो । अर्थमन्त्री कृष्णबहादुर महराले त पत्रकार सम्मेलनै गरी आफूमाथि लगाइएका ४ आरोपको खण्डनसमेत गरेका थिए । महराले अर्थ समितिको बैठकमा ’आफू सानो भुरा भएको’ उल्लेख गरेका थिए ।
किन हुन्छ तस्करी ?
नेपाल राष्ट्र बैंकले मासिक १५ किलो सुन नेपाली बजारमा ल्याउन दिन्छ । पछि बढाएर २० किलो पु¥याइएको छ । राष्ट्र बैंकले वैधानिक रुपले ल्याउने सुनको परिमाण नेपाली बजारको मागको तुलनामा कम हो । त्यसैले सुनको माग पूरा गर्न तस्करी हुने गरेको हो । यसभन्दा अघि भारत पठाउन सुन तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाललाई बनाउने गरिए पनि अहिले नेपाल र भारतमा यसको मूल्यमा अन्तर नभएपछि पछिल्लो समय आउने सुन नेपालमै प्रयोग हुने गरेको छ ।
त्यसैले नेपालको बाटो हुँदै तस्करी गरिएको सुन भारत जान छाडेर नेपालमै प्रयोग हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । ‘नेपालमा सुनको भन्सारदर प्रतितोला ४ हजार ९ सय रुपैयाँ छ,’ उनले भने, ‘अवैध रुपमा सुन ल्याउँदा १ किलोमा ४ लाख ४२ हजार रुपैयाँ नाफा कमाउन सक्छन्, व्यापारीले पनि १ तोलामा ५ हजार रुपैयाँ कम गरी सुन पाउने भएपछि तस्करीको सुनमा आकर्षित भएका छन् ।’
सुन तस्करीको रुट
नेपालमा हवाई र स्थल गरी दुई बाटोबाट तस्करीको सुन भित्रिने गरेको छ । हवाई मार्ग हुँदै नेपालमा मलेसिया र दुबईबाट सुन आउँछ । ब्युरोले बरामद गरेको ३३ किलो सुन दुबईबाटै आएको थियो । स्थलमार्ग हुँदै चीनको तातोपानी सुन तस्करीमा बदनाम भइसकेको नाका हो । पछिल्लो समय तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि केरुङ हुँदै सुन आइरहेको छ । केरुङ हुँदै आएको तस्करीको सुन प्रहरीले बरामद पनि गरिरहेको छ ।
२०७० मंसिरमा १७ किलो सुन तातोपानी भन्सारको गेटमै बरामद भएपछि चीनबाट नेपाललाई ट्रान्जिट बनाइ तस्करी हुने गरेको रहस्य खुलेको थियो । त्यसपछि प्रहरीले पटकपटक गरी सयभन्दा बढी किलो सुन बरामद गरिसकेको छ । काभ्रेमा ९ र कोटेश्वरमा ३५ किलो सुन यही नाका हुँदै राजधानी भित्रिन लागेका बेला प्रहरीले बरामद गरेको थियो ।
दुबईबाट कसरी हुन्छ सेटिङ ?
दुबईबाट अवैध रुपमा सुन नेपाल ल्याएर बिक्री गर्दा १ किलोमा झन्डै साढे ४ लाख रुपैयाँ नाफा हुन्छ । त्यसैले दुबईमा रहेका नेपालीहरूले हुन्डीमार्फत पठाएको रकमले सुन किनेर नेपाल पठाएको पाइएको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
‘एकातिर हुन्डी र अर्कोतर्फ अवैध सुन बिक्रीबाट दोहोरो फाइदा लिइराखेका छन्,’ उनले भने, ‘हुन्डीमा पनि रेट मिलाएर खान्छन्, सुनमा त झन् धेरै नाफा भएपछि अवैध धन्दामा लाग्ने भइहाल्ने भए ।’
तस्करीमा संलग्नहरूले दुबईमा रहेका कामदारले पैसा मनी ट्रान्सफरबाट घर पठाउँदाभन्दा बढी दिने प्रलोभनमा आफूले लिन्छन् । दुबईमा उठाएको पैसा त्यहिँ दुबईमै राख्छन् र नेपालमा रहेको एजेन्टमार्फत कामदारका परिवारलाई भुक्तानी गर्छन् । दुबईको रकमले सुन किनेर तस्करी गरी नेपाल ल्याउँछन् । नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको दररेटभन्दा बढी रकम पाउने भएपछि प्रलोभनमा कामदारहरूले तस्करलाई पैसा सुम्पिने र त्यही रकमले सुन किनेर नेपालमा अवैध रुपमा भित्र्याउने गरेका छन् । अवैध रुपमा नेपाल भित्र्याएर सुन व्यापारीहरूसँग सेटिङमा बिक्री गर्ने गरेको पनि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए ।
कारोबारमा संलग्न तस्करले सुनको सिक्रीदेखि औंठीसमेत बनाएर लगाइदिने, त्यसपछि उसको र ऊ चढेको जहाजको फोटो खिचेर तुरुन्त नेपालका एजेन्टलाई पठाउने गर्छन् । काठमाडौं विमानस्थलको आगमन क्षेत्रमा बसिरहेका ती एजेन्टले सुन ल्याउने व्यक्ति आउनेबित्तिकै सामान लिने र ५० ग्राम सुन ल्याइदिएबापत ५ हजार रूपैयाँ दिने गर्छन् । तर, ठूलो परिमाणमा आउने सुन भने सबैतिरको सेटिङबिना नेपाल भित्रन गाह्रो हुन्छ ।
नयाँ रुट रसुवागढी
चीनसँगको सीमानाका तातोपानीबाट आएका सुन बेला–बेलामा प्रहरीले बरामद गरेकाले त्यहाँबाट तस्करी हुने पुष्टि भइसकेको छ । तर, भूकम्पपछि तातोपानी नाका ठप्प भएपछि केरुङबाट रसुवा हुँदै सुन तस्करीको नयाँ रुट प्रयोग हुन थालेको छ ।
मोटरसाइकलको सिटमुनि ५ किलो सुन ल्याउँदै गर्दा रसुवागढीमा सशस्त्र प्रहरीले रसुवा टिमुरेका कुङजाङ तामाङलाई पक्राउ गरेको थियो । पछिल्लोपटक प्रहरीले १० र ७ किलो सुन रसुवाको बाटो हुँदै काठमाडौं आउँदै गर्दा बरामद गरेको छ ।
रसुवामा ११ चेकपोस्ट
रसुवाको बाटो हुँदै तस्करी भएको खुल्दै आएपछि अहिले गैरकानुनी क्रियाकलाप र अवैध तस्करी रोक्न ११ चेकपोस्ट राखिएका छन् । सेनाका ४, प्रहरीका ५ र सशस्त्र प्रहरीका २ चेकपोस्टमा जाँच हुने गरेको छ ।
अधिकांश चेकपोस्टमा गाडी इन्ट्री मात्र हुने गरेको छ । गाडीको नम्बर, लाइसेन्स नम्बर, साहुको नाम, चालकको नाम, यात्री संख्या र मोबाइल नम्बर टिप्दा–टिप्दै गाडी जाँच हुँदैन । गाडी जाँच गरिहाले पनि भित्री पाटपुर्जामा सुनलगायत अवैध सामग्री लुकाएर ल्याउने हुँदा प्रहरीले सुइँको पाउँदैन ।
रसुवामा अहिलेसम्म बढीमा ६ किलोसम्म सुन बरामद भएको रेकर्ड छ । यही बाटो भएर काठमाडौंमा १५ किलो सुन समात्नुले पनि रसुवामा हुने चेकजाँचको प्रभावकारीबारे प्रस्ट हुन्छ । प्रहरीले नभेटाउने, खोज्न अप्ठ्यारो पर्ने तरिकाले सुन ल्याउने गरिन्छ । धेरैजसो सुन सवारीसाधनमा फल्स बटन बनाएर ल्याउने गरेका छन् । केहीले भने कम्मरमा पेटी बनाएर पनि ल्याउने गरेका छन् ।
धरौटी राखेर छुट्छन्
व्यक्तिले ५० ग्रामसम्म सुनको गहना लगाएर हिँड्न पाउने भए पनि त्योभन्दा बढी ल्याउनु गैरकानुनी मानिन्छ । अझै काँचो सुन त व्यक्तिले ल्याउनै पाइँदैन । चीनमा काँचो सुन सस्तो पर्ने अनि राजस्व छलेर ल्याउँदा धेरै फाइदा हुने भएपछि तस्करी गर्ने बढेको रसुवागढी भन्सार कार्यालय प्रमुख गोपाल कोइरालाले बताए ।
‘प्रहरीले पक्राउ गरी सुन बरामद गरे पनि मुद्दा चलेपछि अधिकांश धरौटीमा छुट्ने गरेका छन्,’ उनले भने, ‘पक्राउ परेकालाई बिगोसहित सोही दिनको मूल्यबराबरको मूल्यांकन गरी धरौटीमा छाड्ने गरिएको छ ।’
धेरै परिणाममा सुन पक्राउ परे ४ वर्षसम्म जेल सजाय हुने व्यवस्था भए पनि सानो परिणाम पक्राउ पर्नेहरू धरौटीमा छुटेका हुन् ।
इतिहास के छ ?
पञ्चायत शासन व्यवस्थामा पनि नेपालमा सुन तस्करी हुने गरेको इतिहास छ । २०४२ सालमा सुर्खेतबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य चन्दबहादुर बुढालाई अवैध रुपमा सुन भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । त्यसलगत्तै २०४३ सालमा पनि लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ पनि पक्राउ परेका थिए ।
यो क्रम त्यत्तिबेलादेखि चले पनि २०५१ पछिको सरकार परिवर्तनका खेल तीव्र रुपमा हुन थालेपछि सुन तस्करीको क्रम फैलिएको थियो । २०५५ सालमा १ सय ३३ टन सुन वैध रुपमै भित्रिएको भए पनि सबै भारतमा खपत हुने भएपछि नेपालमा सुन तस्करी त्यत्तिखेर
मौलाएको थियो ।
प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार १५:३१