सुर्खेत, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ औं स्थापना दिवस शुक्रबार मनाइएको छ ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले निजामति कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग नडराउन निर्देशन दिएका छन् । उनले कानुन सम्मत विकास निर्माण लगायतका कामहरु प्रक्रिया पु¥याएर र इमान्दार भएर गरे आयोगसँग डराउन नपर्ने जनाए ।
क्षेत्रीय प्रशासक पौडेलले मातहतका सवै कर्मचारीहरुलाई इमान्दार भएर असल नियमतले नागरिकलाई सहज वातावरणमा सेवा दिन समेत निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कुनैपनि अख्तियार प्राप्त अधिकारीले अधिकारको दुरुपयोग गर्न नहुनेमा सचेत गराए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंगबहादुर डाँगीले व्यवहार र प्रणालीले भ्रष्टाचार बढाउने कि नियन्त्रण हुने भन्ने पत्ता लाग्ने बताए । एकल प्रयासबाट नियन्त्रण गर्न सम्भव नहुने भएकोले अव वहुप्रयासबाट मात्रै सम्भव हुने उनको भनाइ छ ।
कार्यक्रममा उच्च अदालत बारका अध्यक्ष विवशकुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती, नागरिक सरोकार संघका मणिकुमार पोखरेल लगायतले भ्रष्टाचारलाई सामाजिक अपराधको रुपमा नलिएसम्म नियन्त्रण हुन नसक्ने बताए । नागरिकले भ्रष्टाचार नगर्ने तर कर्मचारीलाई गर्न उक्साउने भन्दै नागरिकपनि सचेत हुनुपर्नेमा जोड दिए ।
यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा स्थापना भएदेखि अहिलेसम्म ३ वर्षको अवधिमा ६ हजार बढी उजुरी परेका छन् । २०७० असोज १ गते स्थापना भएको आयोगमा पहिलो वर्ष १ हजार ६४, दोस्रो वर्ष २१ सय ११, तेस्रो वर्ष २०६९ र चालु आवको माघ महिनासम्म ४८५ गरी कूल ६ हजार २०४ उजुरी परेका छन् । यस्तै यस अवधिसम्म ३५ सय उजुरी फछ्र्यौट भएका छन् ।
प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार १८:३६