रामचन्द्र पौडेल
वरिष्ठ नेता, नेपाली कांग्रेस
–नेपाली कांग्रेसको सर्मथनमा वर्तमान गठनबन्धन बन्दा ६ महिना भित्र स्थानीय निर्वाचन गर्ने भन्ने सहमति भएको थियो । तर सरकारले अहिलेसम्म पनि मिति घोषणा गर्न सकेको छैन नि ?
अझै मुलुकको अवस्था जटिल छ । चैत्रमा निर्वाचन गर्ने भन्ने टार्गेट हो । बैशाखमा भनियो, फेरि मन्त्रीपरिषदले जेठको १० गतेका लागि तयारी गर्नका लागि निर्वाचन आयोगलाई भन्यो भन्ने समाचार सुनेको छु । यसरी निर्वाचनको मिति घोषणा गरेर देशलाई निर्वाचनमा लैजानुपर्नेमा पछि–पछि धकेलिनु अझै चिन्ताको बिषय हो । नेपाल चुनावको बाटोमा प्रवेश गर्नै पर्छ । चुनावको बाटोमा लाग्नुको विकल्प कसैसँग पनि छैन । अहिले निर्वाचनको वातावरण बनाउनका लागि प्रधानमन्त्री, विपक्षी एमाले र मधेसी मोर्चा बाधकका रुपमा देखिएका छन् । किनकि हिजोका दिनसम्म संविधान संशोधन प्रस्ताव टेबुल भएपछि निर्वाचनका लागि तयार छांै भन्ने मधेसी दलका साथीहरु अहिले संविधान संशोधन पास नभइ निर्वाचन घोषणा हुनै हुन्न भन्दै हुनुहुन्छ । त्यसैगरी मधेसमा त्यत्रो असंतुष्टी हुँदा हुँदै पनि संविधान एक इञ्च तलमाथि हुनुहुँदै भनेर एमालेले हठ गर्दै आएको छ । संविधानको संशोधनको कहि कतै राष्ट्रहित विपरित छैन् । राष्ट्रहित विपरित भए हामी चाँही किन चुप बस्थ्यौ र ? अर्को, निर्वाचनको वातारण तयार गर्न प्रधानमन्त्रीजी पनि लाग्नुभएन । एमाले र मधेसीलाई नमिलाएसम्म निर्वाचनको मिति घोषणा गर्नै हुन्न भन्ने प्रधानमन्त्रीजीका कारण पनि समस्या देखिएको छ ।
–अहिले विपक्षी नेकपा एमाले संविधान संशोधन हुनै नदिने अनि संविधान संशोधन नभएसम्म मधेसी दल चुनाव हुनै नदिने अवस्था छ । चुनाव भन्दा पहिले त यो अवस्थाको अन्त्य हुनुपर्ने होइन र ?
आज मधेसका साथीहरुले र सवैले मान्नै पर्छ कि संविधान मार्फत यति ठुलो उपलब्धी हासिल गरेपछि हात र वित्ता नापेर केहि पुगेन भनेर समय वर्वाद गर्ने होइन । र हात परेका सवै उपलब्धीलाई उपेक्षा गर्ने र यसलाई धरापमा पार्ने काम कसैले पनि गर्न हुँदैन । तर पनि हामी साना तिना कुरा संसोधनका लागि तयार छौ । सुधार गर्न सकिन्छ । आफ्ना सुधारका सुझाव राख्न सकिन्छ । त्यसरी सुधारका लागि सुझाव राखेर सहमतिका आधारमा टुंगो लगाउन पनि तयार छौ । कतिपय जिल्लामा देखिएका असंतुष्टीलाई पनि हामी सम्बोधन गर्न तयार छौ । धेरै ठाँउमा देखिएका असंतुष्टीलाई संसदमा छलफल गरौ । संसद नै जनताको प्रतिनीधि थलो हो । यसलाई वाइपास कसैले नगरौ । संसदलाई उपेक्षा गर्नु भनेको जनतालाई उपेक्षा गर्नु हो । अहिले संसदमा दर्ता भएको संविधान संशोधनलाई अगाडि बढाउने कुरामा हामी प्रतिवद्ध छौ । त्यती मात्र होइन हामी यो संसोधनमा परिमार्जनका लागि पनि हामी तयार छौ ।
तर यो संगै देखिएका असहमति बिषेश गरि नेकपा एमालेले जुन ढंगले अडान लिएर अवरोध गरिरहेका छ, सदनमा यही आधारमा अहिले संविधानले ग्यारेण्टी गरेको संघीयतालाई गुमाउने, यसैका आधारमा गणतन्त्रलाई गुमाउने ? के यही अडान कायम राखेर समावेशीतालाई स्वाह पार्ने ? के यसै आधारमा लोकतन्त्रलाई फेरि धरापमा पार्ने ? यो हुनै सक्दैन ।
र, मधेसका पार्टीहरुले पनि बुझ्नुपर्छ । मैले मधेसमा गएर नै भनेको छु । हामीले संविधानबाट पाएका यतिका उपलब्धीलाई सानातिना आठो किलोमा अड्किएर प्राप्त अपार उपलब्धीलाई धरापमा पार्न हुँदैन । अब चुनावको बाटोमा मुलुकलाई लैजानै पर्छ । अब चुनावमा जाने हो, विकल्प केहि छैन अरु ।
–मधेसमा पनि उग्र मधेसवाद हावि भएको देखिन्छ अनि अर्को उग्रराष्ट्रवाद भनौ अर्थात उग्र मधेसी विरोधी कित्तामा एमाले देखिएको छ । यो वीचबाट समाधान कसरी खोज्न सकिएला ?
हो, अहिले मुलुकमा दुईवटा अतिवाद हाबि हुँदै गएको छ । पहाडमा अति राष्ट्रवाद, मधेसमा अति मधेसवाद छ । यो दुईवटा अतिवादको बीचबाट नेपाली कांग्रेसले मुलुकलाई बाहिर निकाल्न जरुरी छ । हिमाल तराई पहाडका बीचको सम्बन्ध कायम राख्न जरुरी छ । अहिले मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चा त समन्वकारी शक्ती हो । नेपाल बचाउनका लागि यही समन्वयकारी शक्तीलाई साथमा लिएर अगाडि बढ्न जरुरी छ । नेपाल जस्तो देशमा उग्र र अति राष्ट्रवादले समस्या सृजना गर्छ । अहिले पनि मधेसमा असंतुष्टी छ । हामीले समयमा सम्बोधन गर्न सकेनौ भने त्यो ठाँउ उग्र र अति मधेसीवादीले लिन्छन । सिके रावत भनौ अझै त्यो भन्दा पनि चर्को समूहले स्पेस लिन्छ । अहिलेको मधेसी मोर्चा भनांै वा यो मध्यमार्गी शक्ति विस्थापित हुन्छ । यो मध्यमार्गी शक्ति विस्थापित भएका दिने नेपालको राष्ट्रियता माथि गम्भिर आघात पुग्छ । त्यसकारण पनि एमाले संविधान संशोधनमा तयार हुनुपर्छ ।
–चुनावको कुरा मात्रै गरिरहेको छ, नेपाली कांग्रेसले कुनै तयारी त गरेको देखिदैन नि ?
चुनावको तयारी थाल्न ढिला भइसकेको छ । चुनावका लागि जनतालाई पनि तयार पार्नुपर्छ । चुनावका लागि जनतालाई तयार पार्ने काम पनि नेपाली कांग्रेसको हो । नेपाली कांग्रेसले चुनावी अभियान लिएर निस्किएपछि मात्रै जनतामा अब चुनाव हुन्छ भन्ने हुन्छ । त्यही भएर सभापतिसँग पनि मैले प्रस्ताव राखेको छु । माओवादी, एमाले लगाएतका पार्टीले मधेस अभियान भनेर संचालन गरिरहेका छन् । अब नेपाली कांग्रेसले ‘देश अभियान’ चलाउने हो । नेपाली कांग्रेसले हिमाल, तराई, पहाडको अभियान चलाउने हो । यसरी अभियान सञ्चालन गर्दा जनताहरु निर्वाचनमा केन्द्रीत हुन्छन् । यो अभियान सञ्चालन गर्दा आमसभा, प्रशिक्षणहरु सञ्चालन गर्नुपर्छ । यो अभियानमा नेपाली कांग्रेसले सर्वसाधरणलाई समेत सहभागि हुने गरि अभियान सञ्चालन गर्नुपर्छ । यसरी जनतामा जाने नेपाली कांग्रेसको प्रयास हुनुपर्छ । पार्टीको नेतृत्वले संविधान कार्यान्वयन र निर्वाचनलाई केन्द्रमा राखेर यसरी अभियान सञ्चालन गर्नुपर्छ ।
–नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा संविधानसभाबाट संविधान जारी ग¥यो । तर संविधान कार्यान्वयनका कांग्रेस नै अलमलमा परेको जस्तो देखिन्छ नि ?
वास्तवमा भन्ने हो भने देशलाई यो संविधानको कार्यान्वयन आवश्यक छ । संविधान कार्यान्वयन हुन सकेन भने यो पुस्ता असफल सावित हुनेवाला छ । अझ मुलुक नै के हुने हो कुन संकटमा पर्ने हो भन्ने छ । यदी संविधानसभाबाट नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको यो संविधानलाई पूर्ण कार्यान्वयन गर्दै व्यावहारमा उतार्नका लागि ३ वटा निर्वाचन सम्पन्न गर्नैपर्छ । त्यसका लागि बैशाख भित्रमा नै स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्छ, जनतालाई निर्वाचन तर्फ उन्मुख गर्नुपर्छ । जनतालाई अन्यत्र उन्मुख हुन दिन हुँदैन । अरु अरु कुरा तर्फ जनमत भड्कियो भने देश सम्हालिएर जाँदैन । देश र व्यवस्थालाई भविष्यसम्मका लागि सुनिश्चित गर्ने अवसर हो अहिले । व्यवस्था सुनिश्चित गर्नका लागि हामीले अपनाएको प्रणालीमा दक्षिणपन्थीदेखि बामपन्थीसम्मलाई एकै ठाँउमा ल्याएका छौ । दक्षिणपन्थी र बामपन्थी सवैलाई संसदीय लोकतान्त्रिक प्रणालीलाई हस्ताक्षर गराएर संविधानसभा मार्फत संविधान जारी गराएर सहमत गराएका छौ । अब यसलाई सुनिश्चित गर्ने हो । हामीले संघीयतालाई पनि सुनिश्चिता तर्फ लैजाने हो । गणतन्त्रको ग्यारेण्टी गर्ने हो । लोकतन्त्र समावेशीतालाई सुनिश्चित बनाउने हो ।
–स्थानीय तहको निर्वाचन हुने कि स्थानीय निकायको निर्वाचन हुने भन्ने अझै सहमति भएको छैन कसरी सहमति होला ?
स्थानीय तहको सिमा र संख्या निर्धारण गर्न बनेको प्रतिवेदनलाई सुधार गरेर जनतालाई चित्त बुझाएर, हिमाल, पहाड र तराईलाई चित्त बुझाएर स्थानीय तहको चुनावमा जान सकिन्छ भने नगरपालिका गाँउपालिकाको चुनावमा जाऔं । यसरी संभव छ भने यसका लागि गम्भिर रुपले प्रयासमा लागौं । होइन स्थानीय तहको बिषय मिलाउन समस्या छ भने कमसेकम चुनावमा जानु पर्यो । यसो हुँदा स्थानीय निकायको चुनावमा भएपनि जाऔं । चुनावमा जनतालाई लैजानुपर्छ । बुथमा जनता जान पाउनुपर्छ, व्यालेट तिर जनता जान पाउनुपर्छ । बुथ र व्यालेट भन्दा अन्यत्र जनताको ध्यान जान दिनु हुँदैन । त्यही भएकाले देशलाई अब चुनावमय बनाउनुपर्छ । देशलाई चुनावमय बनाउनका लागि सवैले इमान्दारी पूर्वक लाग्नुपर्छ । चुनावको वातावरण बनाउनका लागि सरकार पनि लाग्नुपर्छ । अब हामीले आपसमा धेरै कुराहरुको मुल्याङ्कन गर्नुपर्छ । सवैले आ आफ्नो मुल्यङकन गर्न लाग्नुपर्छ । सरकार अनि पार्टीहरुका बीचमा पनि केहि आन्तरिक कमीकमजोरी भएको कुराहरु पनि मुल्याङकन गरेर सच्याउने तर्फ जानुपर्छ ।
–नेपाल करिब–करिब दुईवटा मौसममा निर्वाचन सहज ढंगले हुन्छ, बैशाख जेठ एउटा अर्को भनेको कार्तिक मंसिर । निर्वाचन गराउने दुईवटा मौसम तर निर्वाचन तीनवटा गर्नुछ । यो संभव कसरी बनाउनुहुन्छ ?
अहिले भनेको हाम्रो तयारी स्थानीय निर्वाचनको हो । स्थानीय निर्वाचन यही बैशाख जेठमा गराउनुपर्छ । बैशाख जेठमा स्थानीय निर्वाचन गराउन सकियो भने अरु दुईवटा निर्वाचन एकै पटक पनि गराउन सकिन्छ । त्यसकारण अहिले हामीले सवै निर्वाचन हुँदैनन् भन्ने मानसिकतामा होइन । आउदो माघसम्ममा सवै निर्वाचन गराउछौ भन्ने मानसिकतामा लाग्नुपर्छ । एक ढंगले भन्ने हो भने हामीले २०७४ साललाई निर्वाचनको वर्षका रुपमा अगाडि लैजानुपर्छ । हामीले त २०७४ माघ सम्ममा तीन तहको निर्वाचन गरेर संसदलाई पूर्ण बनाउनु छ । त्यसैगरी संसदले पुर्णता पाएपछि हामीले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन पनि गराउनुपर्छ । त्यही कारणले हामीले आउदो नयाँ वर्षलाई निर्वाचन वर्षका रुपमा अगाडि बढाउनुपर्छ ।
–तपार्इंले भन्नुभयो, दक्षिणपन्थी र बामपन्थी दुवैलाई संसदीय व्यवस्थामा कबुल गरायो कांग्रेसले भनेर यो त कांग्रेसको जीत हो तर किन कांग्रेसले जीतको महशुस गर्न नसककेको ?
अहिले नेपाली कांग्रेसको सिद्धान्तले जित्ने तर कांग्रेसले हार्ने भइरहेको छ । यसो हुनुमा कतै हाम्रो आचरण हाम्रो व्यवहार यी कुराहरुले असर गरेका छन् । जनताले नेपाली कांग्रेसको सिद्धान्त कांग्रेसको आर्दश त्याग गरेका छैनन् । तर कांग्रेसको आर्दश छोडेर हिड्ने कांग्रेसको सिद्धान्त छोडेर कांग्रेस भइरहने, कांग्रेसको चरित्र र व्यवहारलाई बिसर्ने कांग्रेसहरुलाई जनताले सहन सक्दैनन । यो कुरा पार्टीको नेतृत्वले बुझ्न प¥यो । आजको मुलुकको एजेण्डा भनेको मुलुकको विकास हो, मुलुकको समृद्धि हो । राष्ट्रको विकास र समृद्धिमा सवैभन्दा ठुलो बाधा भनेको भ्रष्टचार हो । भष्टचारी संस्कृति अनि पैसाको खोलो बगाउने राजनीति जनताले मन पराउदैनन् । त्यसो भएको हुनाले कांग्रेसलाई यता तर्फ पनि संयमित बनाउन जरुरी छ । पार्टीलाई ससक्त बनाउन प्रजातान्त्रीक समाजवादी छवि, वीपी कोइरालाको आचरण, कांग्रेसको असली आचरणलाई जनताको बीचमा लैजानु परेको छ अहिले । यसो भयो भने नेपाली कांग्रेसका बीचमा एकता स्वभाविक रुपले हुन्छ । हामीले यही कांग्रेसको आचरण देखाउन सकेमा यो देशको नेतृत्व कांग्रेसले गर्न सक्छ । मुलुकका समस्याको समाधान गर्न हामी सक्छौ । मुलुकका समस्याको समाधान नेपाली कांग्रेसले नै दिनुपर्छ । कांग्रेसले समाधान नदिए अरु कसैले समाधान दिनेवाला छैनन् । हाम्रा बामपन्थी मित्रहरुले सधै समस्या बल्झाउन सक्छन तर समाधान दिनका लागि नेपाली कांग्रेस चाहिन्छ । त्यही कारणले हामीले कांग्रेसको आचरण, संस्कृति र धर्म जोगाउन लागेमात्र हामीले मुलुकको समाधन दिन सक्छौ ।
–अब अर्को प्रशंगमा कुरा गरौं, नेपाली कांग्रेसको सहयोग र सर्मथनमा सरकार बनेको छ । नेपाली कांग्रेसपनि सरकारमा छ । यो सरकारको मुल्याङकन कसरी गर्नुभएको छ ?
हो, नेपाली कांग्रेस सरकारमा छ, नेपाली कांग्रेसका मन्त्रीहरु सरकारमा हुनुहुन्छ । कांग्रेस सरकारमा भएको बेलामा जनतालाई कति सरकार भएको महशुस गराउन सकिएको छ ? कांग्रेस सत्तामा भएको समयमा जनता कितको प्रभावित भएका छन् ? जनताले कांग्रेस सरकारमा भएको कतिको महशुस गरेका छन् ? कांग्रेसका नेता कार्याकर्ता कतिको उत्साहीत छन् ? सत्ताले हामीलाई कतिको मद्दत गरेको छ ? यसको आन्तरिक मुल्याङकन जरुरी भएको छ । हामी मुल्याङकन गर्दै जाऔ । तर यी सवै काम पछाडि फर्कनका लागि होइन अगाडि जानका लागि गल्ती सच्याउनका लागि गरौ । यो काम पार्टी भित्र आङ कन्याएर छारो उठाउनका लागि होइन । हामी सवैले आआफ्नो मुल्याङकन गर्न जरुरी छ । सवैले मुल्याङकन गरौ । आन्तरिक रुपमा नै मुल्याङकन गरौ कसले कति काम गरियो भनेर । गल्ती भएका भए सच्याउने तर्फ जाऔ ।
–यसको मतलब अझै पनि नेपाली कांग्रेस एकताबद्ध हुन सकेको छैन भन्ने हो ?
नेपाली कांग्रेसको प्रतिस्पर्धा अहिले आफै भित्र होइन, कांग्रेसको बाहिर ठुलो प्रतिस्पर्धा छ यो कुरालाई हामीले बिर्सियो भने हामी बीचमा धेरै दरार उत्पन्न होलान् । यो हाम्रा बीचमा चुनौती बन्छ । यो चुनौतीको सामाना गर्नका लागि हामीबीचमा एकता हुन्छ कि हुँदैन, हामी एकजुट भएर अगाडि बढ्न सक्छौ कि सक्दैनौ ? मैले त सुरुदेखि नै भन्दै आएको छु कि एकताको प्रयास व्यवहारवाट देखिन आवश्यक छ । एकताको व्यवहार र आचरण गाँउबाट होइन, हामीले माथिबाट सुरु गर्न आवश्यक छ । मैले त सभापतिजीलाई पटक पटक भनेको छु, पार्टीलाई एकाकार बनाउनका लागि हात अगाडि बढाउनुुस्, पार्टीलाई एकाकार बनाउने अभियानमा हरकदममा सहयोग हुन्छ भनेर मैले भनेको छु । अहिले पार्टीको एकताका लागि कुनै यो पक्षलाई बलियो बनाउने कुनै अर्को पक्षलाई कमजोर बनाउने मानसिकताले पार्टीको एकतालाई बाधा पुर्याउँछ । त्यसो भएको हुनाले पार्टीलाई एउटा मुल्यका आधारमा, मान्यताका आधारमा, एउटा संस्कारका आधारमा एकतावद्ध बनाउन जरुरी छ । नेपाली कांग्रेसको संस्कार के हो परम्परा के हो त्यतातर्फ सबैले ध्यान दिउ ।
प्रकाशित मिति: २२ माघ २०७३, शनिबार १५:१८