डडेल्धुरा १८ माघ । कुनैबेला कुष्ठीरोगी मात्रै देखिने डडेल्धुराको पोखरा बजारमा अहिले ती रोेग लागेका मानिस भेटिँदैनन् ।
भेटिएका मध्ये उपचार गरेर राम्रो भइसकेका र रोगका कारण बिरामीका औँला खुट्टालगायत अङ्ग झरे पनि निको भइसकेको अवस्थामा भेटिन्छन् । सरकारले २०१८ साल अर्थात् ५७ वर्ष पहिला कुष्ठरोग निवारणसम्बन्धी अभियान चलाए पनि डडेल्धुरामा भने एक वर्ष अघि नै पोखरास्थित टिम अस्पतालबाट उपचार शुरु भएको स्थानीय बद्ध दुर्गादत्त भट्ट बताउँछन् ।
सो अस्पतालले २०१७ सालमै कुष्ठरोगको सम्पूर्ण उपचार निःशुल्क गर्नाका लागि औषधिमुलोसहित टिम अस्पताल सञ्चालनमा आएको अर्का स्थानीय बद्धा वर्षीया लक्ष्मी भट्टको भनाइ छ ।
अमरगढी नगरपालिकाको पोखरा बजार नजिक २०१७ सालमा स्थापना भएको सुदूरपश्चिमको पहिलो सो अस्पतालमा बाजुरा, अछाम, दार्चुला, बझाङ, डोटीलगायत भारतको बरेलीसम्मका करिब ६०० कुष्ठरोगी टिम अस्पताल वरपर टहरा बनाई बसेका र रोग निको भएपश्चात् फर्केर गएका थिए भने कतिपय त अहिले पनि रहेको अमरगढी–७ दमडागाउँका मानिस बताउँछन् । सन्ताउन्न वर्ष पहिला मासिक करिब तीन हजार बढी कुष्ठरोगीेको उपचार हुँदै आएको सो अस्पतालको तथ्याङ्कमा उल्लेख रहेको हाल उपक्षेत्रीय अस्पताल (पुरानो टिम अस्पताल)का ल्याप्रोसी तरादत्त पन्त बताउँछन् ।
उपक्षेत्रीय अस्पताल बनिसकेपछि डडेल्धुरामा अहिले लगभग ५७ वर्षपछि नौ जना मात्रै कुष्ठरोगी रहेको उनी उल्लेख गर्छन् । समयमा नै कुष्ठरोगको उपचार गरौँ, अपाङ्ग हुनबाट बचौँ भन्ने नाराका साथ आज ६४आँै विश्व कुष्ठरोग निवारण दिवसमा सो कुष्टरोगीको सङ्ख्या सार्वजनिक गरिएको हो ।
डडेल्धुरा सदरमुकाममा अस्पतालका लागि स्थानीयवासीले जमिन उपलब्ध नगराएपछि सदरमुकामभन्दा आठ किलोमिटर टाढा पोखरा बजार नजिकै दुमडाका मुखिया दुर्गादत्त भट्टले निजी जमिन कुष्ठरोगको उपचारका लागि टिम अस्पताललाई उपलब्ध गराएपछि राज्यको ध्यान जानुभन्दा अघि नै विसं.२०१७ देखि नै यहाँबाट कुष्ठरोगको सफल उपचार थालिएकोे मुखिया भट्टको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले नेपालमा एक लाखभन्दा बढी कुष्ठरोगी रहेको तथ्याङ्क सार्वजनिक गरेपछि सरकारले २०१८ सालमा वीर अस्पतालको एउटा झ्यालबाट औषधि वितरण गर्दै क्लिनिक सञ्चालनमा ल्याएको थियो ।
कुष्ठरोग सरुवा भए पनि कमभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिने गरेको ल्याप्रोसी पन्तको भनाइ छ । यस रोगको उपचार स्वस्थ्य संस्थामा निःशुल्क हुने भएकाले रोगका लक्षण देखा परेमा स्वास्थ्य संस्थामा जचाउन स्वास्थ्य कार्यालय सो कार्यलयले आग्रह गर्दै आएको छ ।
रासस
प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार १४:४५