सुर्खेत, १४ माघ । सुर्खेतस्थित भेरी अञ्चल आयुर्वेदिक औषधालयमा बजेटको अभावले गर्दा चुर्ण उत्पादन गर्ने डिस्क मिल विगतका वर्षदेखि बन्द रहेको छ् । बजेट, जडिबुटीका साथसाथै डिस्क मिल चलाउने प्राविधिक नहुँदा चुर्ण उत्पादन गर्ने डिस्क मिल बन्द भएको हो ।
भेरी अञ्चल आयुर्वेदिक औषधालय सुर्खेतमा बिरामीको संख्या धेरै हुने भएकाले पनि जडिबुटीको अभाव हुने गरेको औषधालय सुर्खेतका कविराज श्रीराम आचार्यले बताए । आयुर्वेदिक औषधालयमा निःशुल्क उपचार हुने भएकाले पनि बिरामी संख्या धेरै हुने गरेको कविराज आचार्यले बताए । उनका अनुसार आयुर्वेदिक औषधालयमा दक्ष प्राविधिक भएमा र जडिबुटी भएमा चुर्णको पाउडरको उत्पादन भेरी अञ्चल आयुर्वेदिक औषधालय सुर्खेतमा हुने गर्दछ ।
वीरेन्द्रनगर नगरपालिका र जिल्ला विकास समिति सुर्खेतको सहयोगले जेनतेन सञ्चालनमा रहेको भेरी अञ्चल आयुर्वेदिक औषधालयले अहिले आयुर्वेदिक औषधी उत्पादन गर्न नसकेको कविराज आचार्यले दुखेसो पोखे । बजेट र जडिबुटीको अभावले बिरामीलाई उपचार गर्न नसकेको उनले बताए ।
आवश्यक बजेट सरकारसँग माग गरेपनि राज्यले आयुर्वेदिक अस्पताल सञ्चालनमा ध्यान नदिएको आयुर्वेद चिकित्सक डा.महेन्द्रकुमार खनालले गुनासो गरे । उनले स्थानीय निकायसँग औषधालय सञ्चालन गर्ने रकम माग गरि जेनतेन सञ्चालन गरिरहेको बताए । वर्षमा १५ किलो आयुर्वेद अभिपत्तिका चुर्ण सरकारले पठाए पनि औषाधलयमा दैनिक २ देखि ५ किलो सम्म खपत हुने गरेकाले जडिबुटीको झनै अभाव रहेको चिकित्सक डा.महेन्द्रकुमार खनालले बताए ।
सरकारले माग गरे अनुसार रकम उपलब्ध गराउन सक्यो भने जडिबुटी र दक्ष प्राविधिक ल्याएर डिस्क मिल चलाएर चुर्ण पाउडर उत्पादन गर्न सक्ने चिकित्सक डा.खनालले आशा व्यक्त गरे । उनले भने, ‘हामीले रकम माग त गरेका छौं, भने जति रकम आयो भने जडिबुटीसँगै प्राविधिक ल्याएर डिस्क मिल सञ्चालनमा ल्याउने थियौं ।’
भेरी अञ्चल आयुर्वेदिक औषधालयमा बजेटको व्यवस्था भए जडिबुटी ल्याएर आवश्यक भएजति चुर्ण उत्पादन हुने र बिरामी संख्या अझै बढ्न सक्ने चिकित्सक डा.महेन्द्रकुमार खनालले बताए । साथै उनले भेरी अञ्चल आयुर्वेदिक औषधालयमा सबै निकायको ध्यान जान जरुरी रहेको बताए ।
प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार १३:४७