काठमाडौं, १३ माघ । अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माणमा बैंकले १ अर्ब लगानी गर्ने भएका छन् । अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुलामा नौगड गाढ नदीमा निर्माण गर्न लागेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनामा दुई वटा बैंकले लगानी गर्न भएका हुन् ।
आयोजनाको अनुमानित कुल लागत रु.१ अर्ब ४४ करोड मध्ये रु.अर्ब अर्थात ७० प्रतिशत बैंक ऋण र ४४ करोड अर्थात ३० प्रतिशत शेयरधनीबाट लगानी गरिने भएको छ । नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१ अर्ब ऋण उपलब्ध गराउने सम्बन्धित सम्झौता वुधबार सम्पन्न भएको छ ।
नेपाल एस.बि.आई. बैंक लिमिटेडले रु. ५५ करोड र प्रभु बैंक लिमिटेडले रु.४५ करोड गरि रु.१ अर्ब ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।
जानकारी गराउँदै कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिएका छन् ।
आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ कि.मि. लामो ३३ केभी ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभी ट्रान्समिशन लाईन मार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुने कम्पनीका कार्यकारी संचालक न्यौपानेले जानकारी दिएका छन् ।
कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको जनाएको छ ।
जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्यकासाथ वि.सं. २०६० साल अषाढ ५ गते स्थापना भएको अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार १०:४९