काठमाडौं, १३ माघ । मुलुकको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित प्रमुख निकाय स्वास्थ्य मन्त्रालयसँगै स्वास्थ्य जनशक्तिको तथ्यांक नरहेको तथ्य खुलेको छ । स्विट्जरल्यान्डको जेनेभामा भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को १४०औं कार्यकारी बोर्ड सभामा स्वास्थ्यमन्त्री गगन थापाले नै मन्त्रालयसँग तथ्यांक नरहेको खुलासा गरेका हुन् ।

स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिबारे स्वास्थ्य मन्त्रालयसँग तथ्यांक नहुँदा स्वाथ्य क्षेत्र सुधारका लागि काम गर्नसमेत समस्या उत्पन्न भएको जानकारी पनि मन्त्री थापाले दिएका छन् । उनका अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति कति छ ? कहाँ छ ? कति आवश्यक छ ? भन्नेबारे यकिन तथ्यांक नहुँदा ‘हेल्थ ह्युमन वर्कफोर्स’ गठनमै समस्या उत्पन्न भएको छ । बुधबार जेनेभाबाटै विज्ञप्ति जारी गर्दै मन्त्री थापाले मन्त्रालयको जनशक्तिको विषयमा आधिकारिक तथ्यांक निकाल्न अपिल गरेका छन् । मन्त्री थापाका अनुसार डब्लूएचओको हेल्थ ह्युमन वर्कफोर्सका निर्देशक जेम्स क्याम्प्बेलको टोली र नेपाल प्रतिनिधिबीच मंगलबार ‘हेल्थ ह्युमन वर्कफोर्स’ बारे छलफल भएको थियो । छलफलका क्रममा डब्लूएचओको साधारण सभाअगावै नेपालमा रहेको दर्ता तयार गर्ने र त्यसलाई सभामा पेस गर्ने समझदारी भएको छ । तर, तथ्यांक नहुँदा त्यस्ता जनशक्ति नेपालमा कति छन् भनेर यकिन गर्न समस्या भएको मन्त्री थापाले बताए । उनले बुधबार जारी गरेको अपिलमा भनेका छन्, ‘जनशक्ति कति छ ? कहाँ छ ? कति चाहिन्छ ? कति उत्पादन भइराखेको छ ? यसको तथ्यांक नहुनु ठूलो समस्या होे । स्वास्थ्यकर्मीको तथ्यांक बनाउन सके यो एसईएआरओ क्षेत्रमा नै पहिलो हुने मात्र होइन कि नेपालको स्वास्थ्य गभर्नेन्समा हामीलाई ठूलो मद्दत मिल्नेछ ।’
नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरूको तथ्यांक बनाउन सके विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्व एसिया क्षेत्र (एसईएआरओ) मा नै यो पहिलो हुने मन्त्री थापाको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत हाल नेपालमा पाँचवटा काउन्सिल (परिषद्) गठन भएका छन् । जसमा नेपाल आयुर्वेद परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल नर्सिङ काउन्सिल रहेका छन् । तर, ती काउन्सिलहरूमा दर्ता भएका कर्मचारी कहाँ–कहाँ, कुन ठाउँमा काम गर्छन् भन्ने जानकारी सम्बन्धित निकायसँग नै छैन । सदस्यको यकिन विवरण नहुँदा नेपालमा यस्ता जनशक्ति कति छन् ? र, अझै कति आवश्यक छ ? स्वदेशमा छ वा विदेशमा छ भन्नेसम्मको तथ्यांक छैन ।
‘स्वास्थ्यको क्षेत्रमा कार्यरत दक्ष जनशक्ति कतै न कतै दर्ता भएकै हुन्छ,’ मन्त्री थापाले अपिलमा भनेका छन्, ‘तर, त्यो व्यक्ति कहाँ–कहाँ काम गर्छ ? के–के गर्छ भन्नेबारे सम्बन्धित कार्यालयहरूले नै विवरण राखेको पाइँदैन ।’ उनले ‘बर्थिङ सेन्टर’ सञ्चालन नभएका स्वास्थ्य चौकी एवं अन्तरंग विभाग सञ्चालन नभएका प्राथमिक स्वास्थ्य केन्द्रहरूले कम्तीमा बिहान १० देखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकी एवं अन्तरंग विभाग सञ्चालन भएका प्राथमिक स्वास्थ्य केन्द्रहरूले कम्तीमा बिहान १० देखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नुका साथै ‘अन कल’ तथा ‘अन ड्युटी’ जस्ता व्यवस्था अवलम्बन गरी थप समय सेवा प्रवाह गर्न उनले अपिल गरेका छन् । यसरी १०–५ बाहेकको समयमा सेवा प्रवाह गरेको अवस्थामा कार्यविधिमा उल्लेख भएअनुसार तलबको ५० प्रतिशतसम्म थप सुविधा प्राप्त हुनेछ ।
‘स्वास्थ्य सेवा ऐन २०५३ मा कसैले पनि सरकारी सेवाभन्दा बाहिर काम गर्नुप¥यो भने नेपाल सरकारबाट स्वीकृति लिनुपर्ने स्पष्ट प्रावधान रहेको छ,’ मन्त्री थापाले भनेका छन्, ‘विद्यमान अवस्थामा कसैले स्वीकृति लिएको र कसैले नलिएको पाइएको हुँदा सबैमा एकरूपता ल्याउन अहिलेसम्मका सबै स्वीकृति खारेज गरिएको छ ।’ नियमित सेवाबाहेकको समयमा बाहिर काम गर्न चाहने चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले २०७३ फागुन मसान्तभित्र निवेदन दिई नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेपश्चात् मात्रै काम गर्न पाउने निर्णय पनि मन्त्री थापाले सुनाएका छन् । ‘निजी स्वास्थ्य संस्थाले सरकारी चिकित्सक एवं स्वास्थ्यकर्मीलाई बिहान ९ देखि दिउँसो ३ बजेसम्म काममा लगाउन पाउनेछैनन्,’ मन्त्री थापाको भनाइ छ, ‘३ बजे वा ५ बजेपछि तथा बिहान ९ बजेअघि काम गराउनेले नेपाल सरकारको अनिवार्य स्वीकृति लिनुपर्नेछ ।’
चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले बिदा एवं काजमा बस्दा संस्थाको सेवा अवरुद्ध नहुने गरी मात्र बस्नुपर्ने र तोकिएको माथिल्लो निकायको अनिवार्य जानकारी एवं स्वीकृति लिनुपर्ने जनाउ पनि मन्त्री थापाले दिएका छन् । उनका अनुसार अस्पतालहरूले ओपीडी सेवा दिने डाक्टरको नाम, सेवाको दिन र समय स्पष्ट खुल्ने गरी अनिवार्य रूपले सबैले देख्ने गरी टाँस्नुपर्नेछ । क्यु मेनेजमेन्ट, डिस्प्ले बोर्ड, सूचना डेस्क राख्नुपर्ने मन्त्री थापाले प्रस्ट पारेका हुन् ।
प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार ०७:१०