सुर्खेत, १२ माघ । चिठ्ठीपत्र आदान प्रदानका लागि हुलाकमा धाउने मानिसहरु आजभोली कुरिएर सेवामा धाउन थालेका छन् । सहज र सजिलो सेवा पाएपछि पछिल्लो समयमा सुर्खेतमा कुरिएर सेवाको आकर्षण निकै बढ्न थालेको हो ।
सुर्खेतको बुद्धपथमा विगत २२ वर्षदेखि कोर्टिएर कुरिएर प्रा.लि. चलाउदै आएका लक्ष्मी प्रसाद आचार्य विगतको तुलना भन्दा अहिले कुरिएर गर्न मानिसहरु धेरै आउने गरेको बताउँछन् । उनका अनुसार पहिला धेरै जसो मानिसहरु हुलाकमा सेवा लिन जान्थे भने आजभोली हुलाकभन्दा कुरिएरमा सेवा लिने आउने संख्या धेरै भेटिन्छन् । कोर्टिएर कुरिएर प्रा.लि.सुर्खेतका आचार्य भन्छन्र्, कुरिएरमा पहिलाको तुलना भन्दा त विकास भएको छ् तर जती विकास हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन् ।’
कुरिएर सेवा सस्तो र सुलभ भएपनि यसको प्रचारप्रसार नभएको हुनाले पनि भनेजति मानिसहरु सेवा लिन नआउने गरेको कुरिएर सेवा चलाउदै आएका आचार्य बताउँछन् । उनी भन्छन्र्, अहिले इन्टरनेट भएर पनि होला ओरिजीनल डकुमेन्ट बाहेक अरु फयाक्स, मेल, इमेलमा पठाउने गर्छन् ।’ ओरिजिनल डकुमेन्ट पठाउन होस् या त अन्य कुनै सामान पठाउनको लागि होस् त्यसका लागि कुरिएरमा नै मानिसहरु आउने गरेको उनको भनाई छ ।
विगतमा २५ देखि ३० सम्मका डकुमेन्ट कुरिएर गर्ने गरिएपनि आजभोली बढ्दै गएर ५० को हाराहारीमा डकुमेन्ट कुरिएर गर्ने गरेको कोर्टिएर कुरिएर प्रा.लि.का आचार्यले जानकारी दिए । एउटा डकुमेन्ट कुरिएर गरेको ३५ रुपैयाँ लाग्ने आचार्यले बताए । उनका अनुसार अन्य सामान कुरिएर गर्नको लागि तौल अनुसारको पैसा लिने गरेको छ ।
यसैगरी साझा एक्सप्रेस कुरिएर प्रा.लि. सुर्खेतका आकाशतारा वयकले अहिले कुरिएर सेवामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताए । साथै उनले विकटका ठाउँहरुमा कुरिएर सेवा नभएको हुदाँ सदरमुकाममा मात्रै कुरिएर केन्द्रीत भएको बताए । २ वर्षदेखि साझा एक्सप्रेस कुरिएर प्रा.लि. चलाउँदै आएका वयकले सुरु–सुरुमा मानिसहरु थाहा नपाएका कारण नआउने गरेको र अहिले भने पहिला भन्दा केही मानिसहरु कुरिएर सेवा लिने आउने गरेको बताए ।
कुरिएर सेवामा जोखिम अनुसारको पैसा नभएको साझा एक्सप्रेस कुरिएर प्रा.लि.का वयकले बताउँछन् । उनी भन्छन्, ‘अन्य सामान कुरिएर गर्नु पर्दा धेरै जोखिम मोल्ने गरेको र जोखिम अनुसार पैसा छैन् ।’
यस्तै विगत १६ वर्षदेखि सुर्खेतमा वल्र्ड वाइड एक्सप्रेस कुरिएर चलाउँदै आएका कृष्ण अधिकारीका अनुसार विगत भन्दा अहिले कुरिएरको माग बढ्दै गएको छ । प्राइभेट डकुमेन्ट, अफिसियल डकुमेन्ट दुवै कुरिएर आफुले गर्ने गरेको र धेरै जसो अन्य जिल्ला भन्दा काठमाडांैमै धेरै कुरिएर जाने गरेको अधिकारीले बताए । उनका अनुसार पहिला हुलाकमा धाउने मानिसहरु अहिले छिटो र सस्तो सुलभ सेवा लिनका लागि कुरिएर आउने गर्दछन् ।
विकट ठाउँमा मात्रै कुरिएर सेवा नपुग्ने भएकाले सहरमा मात्रै केन्द्रीत भएको वल्र्ड वाइड एक्सप्रेस कुरिएरका अधिकारीले बताउँछन् । उनी भन्छन्, ‘गाउँ–गाउँमा पनि कुरिएर सेवा पुगेको भए अझै यसको सेवा लिने मानिसहरु थुप्रै हुने थिए ।’
प्रकाशित मिति: १२ माघ २०७३, बुधबार १६:३७