काठमाडौँ, १७ पुस । नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह स्याटलाइट राख्न सघन रूपमा लागेको छ ।
नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण ब्रोडकास्टिङ लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ ।
भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा सहजता हुनेछ । यस अभियानलाई थप टेवा पुग्ने गरी बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
“नेपालको आकाशमा नेपालको स्याटलाइट, नेपालको धर्तीमा नेपाली झन्डा भन्ने अभियानका साथ अब नेपालको आफ्नै भूउपग्रह राख्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय भएको छ । यस विषयमा सरकार गम्भीर रूपमा लाग्छ”, सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले भने ।
विदेशी भूउपग्रह प्रयोग गरेबापत बर्षेनि करोडौँ डलर बाहिर गइरहेको उल्लेख गर्दै “नेपालको आफ्नै भूउपग्रह भएपछि दूरसञ्चार सेवा, पर्यावरण, जलवायु तथा मौसमको अध्ययन र प्राकृतिक विपद्का समयमा समेत विश्वको सञ्चार सेवासँग हामी निरन्तर जोडिन्छौँ । ”
सञ्चारमन्त्री कार्कीले सन् १९८४ मा आईटीयुले नेपालका लागि अन्तरिक्षमा अर्बिटल स्लट छुट्याएको स्मरण गदैँ दूरसञ्चार प्राधिकरणले यस सम्बन्धमा तीव्र गतिमा काम अगाडि बढाएको जानकारी दिए।
सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई असारदेखि भूउपग्रह राख्ने प्रक्रिया जिम्मा दिएपछि यो प्रक्रिया अगाडि बढेको हो । अन्तरिक्षमा भूउपग्रह राख्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले आह्वान गरेको आशयपत्रमा २० वटा अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र बुझाएका छन् ।
“विश्वका राम्रा कम्पनीले आशयपत्र दिएका छन् । कम्तीमा अबको एक महिनाभित्र प्रस्तावको अध्ययनपछि यी कम्पनीमध्येबाट केही कम्पनीलाई चयन गर्छौँ, त्यसमा पर्ने कम्पनीसँग थप व्यावसायिक र वित्तीय प्रस्ताव माग्छौँ’ दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताएको खबर आजको गोरखापत्र दैनिकमा अजय शर्माले लेखेका छन् ।
प्रकाशित मिति: १७ पुष २०७३, आईतवार ०७:४७