डोटी, ३ पुस । लाटामाडाैँ, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेकी छिन् ।
आफ्नै बारीमा पसिना चुहाएर फलाएको गोलभेँडाले राम्रो बजार पाएपछि उनले यसवर्ष मात्रै १८ क्वीन्टल गोलभेँडा प्रतिकेजी रु ५० को दरले गाउँमै बेचेको बताइन् ।
गोलभेँडाबाट राम्रो आम्दानी भएको र एक याममा ६ क्वीनटलसम्म बेच्दा रु ५० हजार भन्दा बढी आम्दानी हुने गरेको कृषक बोगटीको भनाइ छ ।
सेवक नेपाल संस्थाबाट पोली हाउस र बीउविजन पाएदेखि बेमौसममा समेत राम्रो आम्दानी गर्न उनी सफल भएकी हुन् ।
सो संस्थाको सहयोगमा लाटामान्डाैँकै भोजबहादुर महरासमेत गोलभेँडखेतीतर्फ आकर्षित बनेका छन् । उनले पनि आफ्नै बारीमा बेमौसममा समेत गोलभेँडा फलाएर मनग्य आम्दानी गरेका छन् ।
सोही संस्थाको सहयोगमा लाटामान्डौ– ८ का रमेश बलायरले पनि बोइलरका चल्ला उत्पादन गर्दै आएका छन् । डोटीमा पहिलो पटक ह्याचरी मेसिनबाट बोइलर चल्ला उत्पादन उत्पादन गरेका उनकाे आफ्नै मासु पसल समेत छ ।
डोटीमा सो संस्थाले पोषण तथा खाध्य सुरक्षा परियोजना कार्यक्रम लागू गरेपछि जिल्लाका खातिवडा, बाँझककानी, पचनाली, लाटामाण्डाैँ र बारपाटाका कृषक आयआर्जजनका क्रियाकलापमा सक्रिय हुन थालेका हुन् । रासस