जाजरकोट, २ पुस । वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् ।
युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् ।
मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए ।
गाउँमा विद्यालय उमेरका बालबालिका र वृद्ध मात्र भेटिने गरेको उनको भनाइ छ । विकास निर्माणका काममा समेत युवा पुरुष नहुँदा महिला तथा विद्यालय उमेरका बालबालिका जुट्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ ।
गाउँमा भएका केही मानिस सहर, बजार अनि सडकको नजिक सरिसकेका छन् । अहिले गाउँमा मान्छे विहीन बन्दै जाने खतरा बढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले बताइन्।
विवाह गर्दासमेत जन्ती जाने मानिस नहुँदा, मानिस मर्दा मलामी जाने पुरुष नहुँदा अहिले सबै काम महिलाले गर्दै आएको खत्रीको भनाइ छ । हाम्रो गाउँमा जन्ती, मलामी महिलालाई नपठाउने चलन थियो, अहिले पुरुष नै नभएपछि महिलाले त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन्, खत्रीले भनिन् ।
घरको काम बालबालिका र वृद्धले गर्दा विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीको सङ्ख्या पनि ठूलो रहेको रग्दाका कमल ध्यारले बताए ।
स्थानीय सबै कार्यमा बालबालिका नै सहभागिता जनाउँछन् अनि यसले गर्दा पढाइमा समस्या आउने गरेको ध्यारको भनाइ छ । घरव्यवहारदेखि गाउँमापर्ने सबै काम विद्यालय उमेरका बालबालिका र वृद्धको जिम्मामा रहेको पाइएको छ । अहिले जिल्ला प्रशासन र गाविसमा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्या ठूलो रहेको छ । रासस