काठमाडौं, २८ मंसिर । शीतलहरका कारण एक सातायता तराई–मधेसको जनजीवन कष्टकर बनेको छ । शीतलहरले तराईमा अत्यधिक चिसो बढेको छ । चिसोले कठ्यांग्रिएर पर्सा र महोत्तरीमा दुईजनाको मृत्यु भएको छ । पर्सा सेढवाका ४५ वर्षीय प्रभुराम चमारको शनिबार र महोत्तरी मटिहानीका ७० वर्षीय नथुनी पासवानको आइतबार मृत्यु भएको हो ।
अत्यधिक चिसोका कारण तराईका सामुदायिक विद्यालयहरू बन्द गरिएका छन् । जिल्ला शिक्षा कार्यालयहरूका अनुसार बिहान चिसो अत्यधिक हुने गरेकाले एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेको विद्यालयमा दिउँसो परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
बाक्लो कुहिरोका कारण तराईमा लामो तथा छोटो दूरीका सवारीसाधन चलाउन समस्या भएको छ । चिसोकै कारण यात्रुहरूको संख्या घटेको नारायणी यातायात बस व्यवसायी संघले जनाएको छ । दिनभरि घाम नलागेपछि मानिस त्यति धेरै घरबाट बाहिर निस्केका छैनन्, आगो तापेर दिन कटाउने गरेका छन् । तराईका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, मकवानपुर, चितवन, नवलपरासीलगायत जिल्ला चिसोबाट बढी प्रभावित रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले जिल्ला दैवीप्रकोप उद्धार समितिहरूलाई सुरक्षाका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । एक सातादेखि तराईमा चिसो बढ्दै गएपछि गृहले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएको हो । चिसोका कारण देखिन सक्ने समस्यालाई लक्षित गरी जिल्ला दैवीप्रकोप समितिलाई क्रियाशील बनाइएको गृह मन्त्रालयले जनाएको छ । ‘नागरिक पनि विशेष सचेत हुनुपर्ने अवस्था छ, शीतलहर हरेक वर्ष प्राकृतिक विपत्का रूपमा देखापरिरहेको छ, यसबाट बच्ने उपाय अवलम्बन गर्न हामीले अनुरोध गरेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘जिल्ला दैवीप्रकोप उद्धार समिति परिचालित भइसकेको छ ।’ जिल्ला दैवीप्रकोप उद्धार समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार ०७:४९