जाजरकोट, २० मंसिर । जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार वस्तुहरुमा गम्भीर क्षति हुने गरी सडक निर्माण कार्य भएको भन्दै काम रोकेपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र परेको छ ।
जिल्ला वन कार्यालयको निर्देशनमा इलाका वन कार्यालयले २०७० चैत २२ गते सडक निर्माणको काम रोकेको थियोे । सडक निर्माणको म्याद गुज्रेपछि ठेकेदारले म्याद थपका लागि ताकेता गर्दा थप्न सडक विभाग र सडक डिभिजन कार्यालयले अहिलेसम्म कुनै पहल नगर्दा आधा काम भइसकेको खलङ्गा–पाँचकाटिया–वारेकोट–जुम्ला सडकको फुलचाउली–गर्छिनाखण्डको काम अलपत्र परेको हो ।
विसं २०७० मङ्सिर २२ गते निर्माण सम्झौता भएर सुरु भएको १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट ¬र जुम्ला जिल्ला जोड्ने रणनीतिक महत्वको सडकको निर्माण कार्य बीचैमा अलपत्र पर्दा स्थानीयवासी चिन्तित भएका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी रौताह कन्स्ट्रक्सन प्रालि उदयपुरका प्रतिनिधि शान्तबहादुर बस्नेतले सरकारी निकायकै व्यवधान र उदासीनताले निर्माण कार्य अलपत्र परेको बताए ।
दुई भागमा निर्माण सम्झौता भएको उक्त सडकको १० किमी सडक निर्माण सकिएको र आठ किमी बाँकी छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन देखाएर मात्र सडक निर्माण गर्नु भन्ने वन कार्यालयको पत्रका कारण निर्माण कार्य रोकिएको बस्नेतको भनाइ छ ।
जिल्ला वन कार्यालय जाजरकोटका प्रमुख उपेन्द्रप्रसाद पटेलले सडक निर्माण गर्दा वन र वातावरणलाई पनि ख्याल गर्नुपर्छ भनेर आफूहरुले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन खोजेको बताए । हालसम्म यो सडकको वातावरणीय मूल्याङ्कन हुन सकेको छैन । सडक निर्माण गर्ने पक्षले नै वातारणीय मूल्याङ्कन गर्नुपर्ने वन कार्यालयले बताएको छ ।
विसं २०७० मङ्सिरमा रु एक करोड सात लाख र पुनः सोही वर्षको चैत २४ गते रु ६० लाखमा थप सम्झौता गरी सात महिनाभित्र सडक निर्माण सक्ने भनिए पनि सडक विभागको बेवास्ता र वन कार्यालयको अवरोधका कारण आफूले सडक निर्माण गर्न नसकेको बस्नेतले गुनासो गरे ।
काम गर्नका लागि निर्माणस्थलमा राखिएको डोजर बिनाकाम थन्किएको र सडक निर्माणको अवस्था पनि अलपत्र परेको छ ।
उता सडक डिभिजन कार्यालय चौरजहारी, रुकुमका प्रमुख इन्जिनियर आशिषकुमार बुढा मगरले सडक निर्माणको कार्य सुचारु गर्न पहल गरिरहेको बताए ।
वातावरणीय मूल्याङ्कन बिना नै विकास निर्माणका कार्यहरु गर्दा ठाउँठाउँमा भू–क्षय, बाढी पहिरो लगायतका समस्या आउने र संरचना दिगो नहुने खतरा हुन्छ । रासस