सुर्खेत, १७ मंसिर । कुनै समय इमेल इन्टरनेट एकदमै नौलो कुरा थियो । आफ्नो भावना व्यक्त गर्न होस या सुचना आदान प्रदान गर्नको लागि होस हुलाक सेवाको विकल्पनै थिएन, सबैले हुलाक सेवा नै प्रयोग गर्दथ्ये त्यो बेला । तर अहिले समयले केल्टे फेरेको छ, प्रविधिको विकासँंगै इमेल तथा इन्टरनेटको सुविधा गाउँ तहमा पुगेको छ जसले गर्दा मध्यपश्चिम क्षेत्रमा हुलाक सेवाको आर्कषण घट्दै गएको छ ।
हात हातमा मोवाइल र इन्टरनेटबाट सजिलै सूचना आदानप्रदान गर्न सकिने भएकाले हुलाक सेवा लिन आउने संख्या घटेको छ । हुलाकबाट सूचना गर्नु परे महिनौ दिन लाग्ने भएको र मोवाइल तथा इन्टरनेटबाट तुरुन्तै सूचना गर्न मिल्ने भएकाले पनि हुलाक सेवामा कमि आएको मध्यपश्चिम क्षेत्रीय हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ ।
हुलाकबाट सरकारी कामकाजका महत्वपूर्ण चिठीपत्रमात्रै पठाउन प्रयोग गरिएको मध्यपश्चिम क्षेत्रीय हुलाक निर्देशनालय सुर्खेतका शाखा अधिकृत रेखा गौतमले बताइन् । उनले भनिन् ‘सरकारी कार्यालयहरुमा ३ सय सम्म चिठी पत्रहरु हुलाकबाट नै आइरहन्छ यसरी पनि हुलाक चलीरहेकै छ ।’ प्रविधिले हुलाक सेवालाई विस्थापित गर्दै जाने अवस्था आएको उनको भनाई छ ।
सरकारी चिठीपत्र बाहेक व्यक्तिगत चिठीपत्र हुलाकबाट आउन छोडिसकेको अधिकृत गौतमले बताइन् । मोवाइल तथा इन्टरनेटका कारण व्यक्तिगत कगाजपत्रहरु हुलाकबाट आउन छोडेको उनले बताइन् । शाखा अधिकृत गौतमका अनुसार पहिले भन्दा अहिले हुलाकमा चिठी एकदमै कम आउने गरेको छ । उनि भन्छिन ‘अहिले हरेक कुरा संचारमाध्यमवाट चल्छ, यस्तो अवस्थामा हुलाक पछाडी पर्दै गइरहेको छ ।’ पछिल्लो समयमा प्रविधिको विकासले छिटो छिटो फड्को मारेको हुँदा पुरानो सेवा सुविधा ओझेलमा पर्न गएको उनको भनाई छ ।
हुलाक सेवा कार्यालयले सरकारी कामकाजमा प्रयोग गरिने हुलाक टिकट विक्री तथा सरकारी चिठिपत्र आदानप्रदान गर्ने काममा सिमित रहने देखिएको छ । अधिकांश सरकार तथा व्यक्तिगत कागजपत्र निजी कुरियर कम्पनीबाट पठाउने गरेका कारण पनि हुलाक सेवामा कमि आएको छ । सरकारले हुलाक सेवालाई परिमार्जन गरि सञ्चालन नगरे हुलाक सेवा अब टिकट विक्रीमै सिमित हुन सक्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार ०८:१२