ललितपुर, १६ मंसिर । स्थानीय निकायका कार्यक्रम लक्षित वर्गसम्म पुग्नका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)ले सहयोग गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले बताएका छन् ।
मन्त्रालयले बुधबार आयोजना गरेको ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम–दोस्रो चरण’को राष्ट्रिय सल्लाहकार समितिको बैठकमा बोल्दै उनीहरुले कार्यक्रमले गर्दा तल्ला तहका नागरिकको योजना तर्जुमा देखि कार्यान्वयनसम्म पहुँच बढेको बताएका हुन् ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कार्यक्रमले गर्दा सरकारका कार्यक्रम तल्ला तहसम्म पुगेको बताए । उनले भने, “महिला सशक्तीकरण, बालमैत्री स्थानीय निकाय निर्माणलगायत धेरै कुरा कार्यक्रमको उपलब्धि रहेका छन् ।” नयाँ संविधानले शक्तिको विकेन्द्रीकरणका लागि स्थानीय निकायलाई माध्यम बनाएको उनले बताए ।
नेपालका लागि स्विजरल्यान्डका राजदूत डा जोर्ग फ्रिडेनले कार्यक्रमले महिला, बालबालिका लगायतका क्षेत्रमा उपलब्धि हासिल गरेको बताए । उनले भने, “यो वर्गको आफ्नालागि छुट्याएको बजेटमा पहुँच बढेको छ ।” सरकारले तोकेको समयमा स्थानीय तहको निर्वाचन गर्दा अझै यस क्षेत्रमा उपलब्धि हासिल हुने उनले आशा व्यक्त गरे ।
कार्यक्रमका राष्ट्रिय परियोजना निर्देशकसमेत रहनुभएका सह–सचिव रेश्मीराज पाण्डेले अहिले ९० प्रतिशत गाविसमा सचिव पुगेको दाबी गरे।
परियोजनाका व्यवस्थापक छवि रिजालले सार्वजनिक सुनुवाइ लगायतका माध्यमबाट स्थानीय निकाय उत्तरदायी बन्दै गएको दाबी गरे ।
परियोजनाका मुख्य परामर्शदाता पिताम्बर शर्माले मुलुकको सङ्क्रमणकाललाई सम्बोधन गर्न कार्यक्रमले सहयोग गरेको दाबी गरे । रासस