बेनी (म्याग्दी), १० मंसिर । बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
चालकसहित जिप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीयवासीले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन् । खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बीचमा त्रिपाल भेटिए पनि सवारी तथा चालक नभेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।
उनका अनुसार बेनीको कालीपुल बसपार्कदेखि पोखरेबगरसम्म कालीगण्डकी नदी वारपार व्यापकरुपमा प्रहरी परिचालन गरी खोजी भइरहेको छ । हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन नसकेको प्रनाउ खड्काले जानकारी दिए ।
मङ्गलबार साँझ बेनीदेखि सामान लिएर गएको उक्त बोलेरो जिप म्याग्दीको बैंसरीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मङ्गलबारदेखि हराएका सवारीधनीसहित जिपका बारेमा बुधबार बेलुका मात्रै परिवारले प्रहरीमा जानकारी गराएका थिए।
दरवाङमा आगलागी, घर पूर्णरुपमा नष्ट
यसैबीच, पश्चिम म्याग्दीको दरवाङ भूमेमा आज बिहान ३ः३० बजेको समयमा आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
दरवाङका लीलाराम पुनको घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडालगायत नगदसमेत जलेर नष्ट भएको स्थानीयवासी मोतिराज गौतमले जानकारी दिएका छन् ।
गौतमले दिएको जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएपनि कारण खुल्न सकेको छैन । अहिलेसम्म क्षतिको विवरण प्राप्त भइनसकेको जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । रासस