काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन दर्ता गर्न नदिनेहरू ‘अतिवादी’ भएको बताएका छन् ।
‘संशोधन प्रस्ताव दर्ता गर्न दिन्न भन्नु, संसदमा प्रवेश गर्न दिन्न भन्नु, सडक र सदन दुबै चर्काउछु, आगो बाल्छु भन्नु यो अतिवादी कुरा हो’, प्रमुख प्रतिपक्षी एमालेतर्फ संकेत गर्दै बिहीबार राप्रपाद्वारा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘यसप्रति राप्रपा सहमत छैन् । संसदबाट कसैले समाधान चाहन्छ भने समाधान खोज्न दिनुपर्छ ।’
केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री रहेका थापा यसअघि एमालेकै लाइनमा प्रतिपक्षी भुमिका निर्वाह गर्दै आएका थिए । तर, पार्टी एकिरकणपछि पहिलोपटक थापाले संविधान संशोधनको विषयलाई लिएर एमालेको आलोचना गरेका हुन् ।
संविधान संशोधनबारे आफूले एमाले नेताहरुसँग परामर्श गरिरहेको भन्दै थापाले भने, ‘मैले एमाले नेतासँग परामर्श गर्दैछु र गरेको छु । उहाँसँग गम्भीर सल्लाह हुनसक्छ ।’
नेता थापाले संविधान संशोधन प्रस्तावमा राप्रपा अधिकतम लचकताका साथ प्रस्तुत हुने बताए । ‘संशोधन प्रस्तावमा हाम्रो कुनै अवरोध हुँदैन् ।
लचकताका साथ प्रस्तुत हुन्छौं । तर, हिन्दू राष्ट्रको एजेण्डालाई अहिलेको संशोधन प्रस्तावमा राख्नका लागि दबाब दिन्छौं’, उनले भने ।
प्रकाशित मिति: ९ मंसिर २०७३, बिहीबार १९:३५