भीमदत्तनगर, ३ मङ्सिर । धानबाली भित्र्याएर, गहुँखेती सुरु गर्ने समयमा कञ्चनपुर र कैलालीमा पेट्रोलियम पदार्थको अभाव भएपछि किसान मारमा परेका छन् ।
खेतीपातीका बेला इन्धन अभाव हुँदा गहुँ छर्ने र धान थ्रेसिङको काम प्रभावित भएको छ । तिहार र छठ पर्वको अवधिमा परेको बिदा तथा इन्धन ढुवानी गर्ने केही ट्याङ्करको रुट परमिट सकिएका कारण इन्धन अभाव भएको आयल निगमको सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रबन्धक नरेशकुमार डङ्गोलले जानकारी दिए ।
इन्धनको आवश्यकता बढेपनि मागअनुसार पुर्याउन कठिनाइ भइरहेको उनले बताए । धान थ्रेसर लगाउने, गहुँ छर्न खेत जोत्नका लागि इन्धनको माग तेब्बरले वृद्धि भएको र माग पुरा गर्न समस्या भएको छ । “अरु समयमा भन्दा माग ह्वात्तै बढ्यो,” डङ्गोलले भने– “इन्धनको सहज आयातका लागि भारतीय डिपोसित समन्वय गरिरहेका छौँ ।” केही दिनभित्रै इन्धनको सहज वितरण हुने उनको भनाइ छ ।
यता खेत जोत्न डिजेल नपाएर किसान कैलाली र कञ्चनपुरका पेट्रोलपम्पमा दुई÷तीन दिनदेखि लामबद्ध भएर बसेका छन् । “तेल नपाउँदा कालोबजारीबाट महँगोमा खरिद गरेँ,” भीमदत्तनगरपालिका–१९ का किसान मोहन भट्टले भने– “पेट्रोलपम्पमा तेलका लागि तँछाडमछाड छ ।” पेट्रोलपम्पमा इन्धनका लागि मोटरसाइकल, ट्याक्टर र ठूला सवारी साधनको लाइन छ ।
“अरु समयमा कैलाली र कञ्चनपुरमा ७० लाखदेखि ७५ लाख लिटर इन्धन खपत हुने गरेको थियो,” क्षेत्रीय प्रबन्धक डङ्गोलले भने– “अहिले डेढदेखि दुई करोड लिटरसम्म इन्धनको माग छ ।” कैलालीको जोसीपुर, भजनी, टीकापुर क्षेत्र र कञ्चनपुरको बेलौरी, झलारीलगायत क्षेत्रका पेट्रोलपम्पमा इन्धन लिन लाइन बस्नेको सङ्ख्या घट्दै गएको उनले बताए ।
उनले आजमात्रै भारतबाट तीन लाख २४ हजार लिटर डिजेल आयात भएको जानकारी दिए । “आएको तेल सबै ठाउँमा अलिअलि गरेर पुर्याएका छौँ,” डङ्गोलले भने– “भारतीय डिपो बिदाका दिनसमेत सञ्चालनमा राख्न पत्राचार भइसकेको छ ।”
केही व्यक्तिले पेट्रोलपम्पबाट इन्धन लिएर बजारका पसलमा महँगोमा बिक्री वितरण गरिरहेको जानकारी आएको क्षेत्रीय कार्यालयले जनाएको छ । कालोबजारी गर्नेले पेट्रोल प्रतिलिटर रु १२० देखि रु १५० सम्ममा बिक्री गरिरहेका छन् । बजार अनुगमनका लागि स्थानीय प्रशासनसित समन्वय गरिरहेको डङ्गोलको भनाइ छ ।
बजारमा भइरहेको इन्धनको कालोबजारीले थप समस्या निम्त्याएको छ । भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको भन्दा बढी भएकाले सीमावर्ती क्षेत्रबाट इन्धन भारतमा बिक्री भइरहेको छ । भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर रु २० तथा पेट्रोल रु १२ सस्तो रहेको डङ्गोल बताउँछन् । “यहाँ आउने सयौँ भारतीय सवारी चालकले नेपालबाट इन्धन भरेर लैजाने गरेका छन्,” उनले भने । रासस