म्याग्दी, ३ मङ्सिर । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक रु एक लाखसम्म कमाइ गर्न थालेका छन् ।
मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् ।
उनले तीन रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गरेका छन् । “विदेशमा सोचेजस्तो कमाइ छैन । त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँदो रहेछ,” उनले भने ।
अहिले उनले रु ३० लाख लगानी गरेका छन् । किसानले कुखुराको दानासमेत बिक्री गर्ने गरेका छन् । जिल्लाका बाबियाचौर, थाइवाङ, भर्जुला, हिँदी, पूर्णगाउँ, पुलाचौरको डडुवालगायत क्षेत्रका मासु पसल र सर्वसाधारणलाई उहाँले मासु बिक्री गर्दैआएका छन् । “आफैँ मालिक र कामदार भएर काम गर्दैआएको छु,” उनले भने ।
घर आसपासका क्षेत्रमा खेर गएको जमिनमा अम्रिसो खेतीसमेत गर्नुभएका उहाँले पशुपालन र कृषि पेसालाई सँगै अगाडी बढाएका छन् । आयआर्जनको माध्यम नै कृषि र पशुपालन भएको उनको ठम्याइ छ ।
सरकारी सहयोग सुगम क्षेत्रमा मात्र केन्द्रित भएको उनको आरोप छ । ग्रामीण क्षेत्रका खेर गएका खेतबारीबाटै पर्याप्त आम्दानी गर्न सक्ने सम्भावना छ । उनले गाउँकै अन्य किसानलाई समेत आवश्यक सहयोग गर्दैआएका छन् । रासस