पाल्पा, २६ कात्तिक । साँझ बिहान हातमुख जोर्न तथा एकसरो कपडा लगाउन निकै कष्ट भोगेकी गीता राना यतिबेला होटल व्यवसायबाट मनग्य आम्दानी गर्छिन् ।
एकातिर विवाह भएको पाँच वर्षमा श्रीमान्को मृत्युको पीडा भने अर्कोतर्फ आयस्रोतको कुनै उपाय नभएपछि बुटवल–तानसेन सडकखण्डअन्तर्गत जोरधारा नजिक होटल थापी बटुक बनाएर बिक्री गर्न थालिन् । उनले अहिले खर्च कटाएर मासिक रु ६० हजार बचत गर्छिन् ।
सडक किनारमै होटल व्यवसाय गर्दैआएका मस्यामका ज्ञानबहादुर चिदी वार्षिक रु पाच लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले पाँच जनालाई रोजगारी समेत दिएका छन् । यस्तै कोलडाँडा सत्यवतीका वीरबहादुर चिदीले पनि होटल व्यवसायबाट वार्षिक रु तीन लाख बढी बचत गर्दै अाएका छन् । सडक किनारामा अस्थायी तथा स्थायी रुपमा होटल सञ्चालन गर्दैआएका सर्वसाधारणले मनग्य आम्दानी गर्दै अाएका छन् ।
ठेको बनाएर जीविका चलाउँदै
चापाकोटका ५२ वर्षीय लीलबहादुर चुनारालाई अहिले ठेको बनाउन भ्याइनभ्याई छ । विगत २५ वर्षदेखि ठेको बनाएर उनले जीविका चलाउँदै आएका छन् ।
ठेको बनाएर उनले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दैआएङ्का छन् । गाउँघरमा परम्परागत रुपमा प्रयोग हुने दुग्धजन्य पदार्थ राख्न प्रयोग हुने ठेको, ठेकी, माने, आरी, गौवालगायत सामग्री उनले निर्माण गर्दैआएका छन् ।
“बाउबाजेले गरेको पेसालाई निरन्तरता दिँदै आएको छु”, उनले भने । चुनाराले चलाएकाे व्यवसायमा छजनालाई रोजगारी मिलेको छ । ठेको रु दुई हजारदेखि रु आठ हजारसम्म बिक्री हुने गरेको छ । एक वर्षमा ३०० भन्दा बढी ठेको बिक्री गर्ने गरेको उनी बताउछन् ।
ठेको समूहमा मिलेर निर्माण गर्ने गरिन्छ । रत्नपुर, दामाचौर, गेझा, हुँगीलगायतका स्थानमा कटहरको बोट खरिद गरी वर्षौंदेखि यही व्यवसायलाई निरन्तरता दिँदैआएको चुनारा बताउछन् । “एउटा कटहरको रुखबाट रु चार लाख ५० हजारसम्म आम्दानी हुन्छ,” उनले भने । निर्माण गरिएका सामग्री पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा बिक्री गरिँदै आएको बताइन्छ । रासस