काठमाडौँ, २१ कात्तिक । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणसँगै संसारभर नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश प्रवाह भएको बताए ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने – “नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि नेपालमा शान्ति छ, सुरक्षाको राम्रो प्रबन्ध छ, असुरक्षा छैन भन्ने सन्देश संसारभर गएको छ ।”
नेपाल सरकार जुनसुकैस्तरको भ्रमणको शान्ति सुरक्षाको प्रबन्ध गर्न सक्षम रहेको भ्रमणबाट पुष्टि भएको बताउँदै मन्त्री खाँणले भने – “भारतीय राष्ट्रपतिको उच्चस्तरको भ्रमण अत्यन्तै सौहार्दपूर्ण ढङ्गबाट सम्पन्न हुनु भनेको हाम्रा लागि ठूलो महत्वको विषय हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारलाई उचाइमा पु¥याउन ठूलो योगदान दिएको छ ।”
उनका अनुसार राष्ट्रपतिको सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनले भ्रमण सफल तुल्याउन सुरक्षाकर्मीको गतिशीलता, क्षमता र कडा मेहनत रहेको बताउँदै राष्ट्रपति मुखर्जीको सवारी मार्गमा सर्वसाधारणलाई हिँडडुलमा परेको असुविधाप्रति क्षमा मागे।
एक प्रश्नको जवाफमा रक्षमन्त्री खाँणले संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई सहजताका साथ लिँदै नेपाली सेनाले सङ्घीयतालाई आत्मसात् गरेको बताउँदै भने– “पछिल्लो समय सेना र सुरक्षाफौजका भूमिका समेत बदलिएको छ, विपद् व्यवस्थापन र विकास निर्माणमा पनि सेनाको भूमिका महत्वपूर्ण साबित भएको छ, द्वन्द्वरत मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले देखाएको अनुशासन, व्यावसायिकता र भूमिकाको सर्वत्र प्रशंसा हुँदै आएको छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले आफ्नो पार्टी उदारवादमा विश्वास गर्ने भएकाले सबैको भावना र चाहनालाई समेटेर अघि बढिरहेको छ भने। उनले भने– “थप राजनीतिक सहमतिका साथ संविधान कार्यान्वयन गर्न आवश्यक परिमार्जन र संशोधनका लागि अघि बढाइएको हो । नेपालको संविधानको स्वरुपले नै मिलीजुली सहमतिका आधारमा अघि बढ्नुपर्छ भनेको छ । रासस