भैरहवा २१ कात्तिक । मुलुककै पहिलो विशेष आर्थिक क्षेत्रमा पहिलो चरणमा १४ उद्योग स्थापना हुने भएका छन् । निर्यातमुखी उद्योग प्रोत्साहन गर्ने महत्वाकांक्षी परियोजनाका रुपमा रहेको भैरहवास्थित सेजमा उद्योग स्थापनाका लागि २३ आवेदन परेकोमा १४ उद्योगले स्वीकृती पाइ स्थापनाका लागि सहमति गरेका छन् ।
आवेदन दिएकामध्ये चार उद्योग सुर्ती तथा गुट्खाजन्य रहेको जनाइएको छ । यस्ता प्रकृतिका उद्योगहरु सञ्चालन गर्न दिने विषयमा विवाद उत्पन्न भएपछि निर्णयका लागि मन्त्रालयमा पठाइएको छ । अन्य
५ उद्योग भने सहमतिका लागि सम्पर्कमा नआएको आर्थिक क्षेत्र विकास समितिका उपसचिव सुन्दर थापाले जानकारी दिए । उद्योग सञ्चालनका लागि अन्तिम स्विकृती पाई सहमति गर्ने औद्योगिक तथा प्रतिष्ठानहरुमा सिद्धार्थ गु्रपको ३ वटा उद्योग रहेका छन् ।
गोल्छा समूह (हुलास), अरुणखोला बहुउद्देश्यिय सहकारी संस्था, चेतनशील मल्टीपर्पाेज प्रालि, सुगम नानो हर्बल, किरण सुज म्यानुफ्याक्चर्स (गोल्ड स्टार सुज), बर्न गार्मेन्ट, जगदम्बा समूह, लोहिया ग्रुप लगायत रहेका छन् ।
तर, पञ्चकन्या ग्रुप, गोल्ड चेन, स्वस्तिक रबर उद्योग तथा वैद्यज अर्गनाइजेसन आवेदन दिएर पनि सहमतिमा आउन सकेका छैनन् । अहिले सहमति गर्ने उद्योगहरुले सेजमा छुट्याईएका ३६ प्लटहरु उपभोग गर्नेछन् ।
सेज व्यबस्थापन समितिले बाँकि प्लटहरुमा पनि उद्योग स्थापना गर्नका लागी आह्वान गर्दै सूचना प्रकाशित गरेकामा बिभिन्न ८ वटा उद्योग स्थापना गर्न प्रस्ताब आएको उपसचिब सुन्दर थापाले बताए । यी उद्योगहरुको प्रस्तावमाथि छानविन भइरहेको उपसचिब थापाले बताए । नयाँ प्रस्तावहरुबाट २४ प्लट माग भएको छ ।
सेजमा प्रस्ताव गरिएका उद्योगहरुमा पान मसालादेखि सुनका गरगहना बनाउने उद्योगहरु समेत रहेका छन् ।
हर्बल प्रोडक्ट्स,अदुवा प्रशोधन, प्लास्टिक बोतल, फेब्रिक स्याक्स, छाला प्रशोधन तथा मासु सम्बन्धी, स्टील वायर, पीभीसी म्याट, पीभीसी रबर, फुटवेयर(जुत्ता), रेडिमेड कपडा (तयारी पोशाक), रबर प्रोडक्ट, ह्युम पाईप तथा सिमेन्ट सम्बन्धी, साबुन, भेजिटेबल तथा जुस लगायतका उद्योग सञ्चालनका लागि प्रस्ताब पेश गरेका थिए ।
विशेष आर्थिक क्षेत्रभित्र सञ्चालन हुने उद्योगले न्युनतम ७५ प्रतिशत उत्पादन बिदेश निकाशी गर्नुपर्ने प्राबधान विशेष आर्थिक क्षेत्र सञ्चालन व्यवस्थापन मापदन्ड तथा कार्यविधिमा उल्लेख छ ।
क्षेत्रभित्र उद्योग स्थापनाका लागि विद्युत् बाहेकको सबै पूर्वाधार तयारी अवस्थामा रहेको इन्जिनियर लक्ष्मण भट्टराईले जनाए । कारोबार दैनिकमा खबर छ ।
प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार ०७:५४