काठमाडौ २१ कात्तिक । पछिल्लो पाँच वर्षमा चिया निर्यातबाट नेपालले १० अर्ब विदेशी मुद्रा आर्जन गरेको छ । यस अवधिमा नेपालबाट भारत तथा तेस्रो मुलुकमा ५ करोड ५८ लाख किलो चिया निर्यात भएको छ ।
निर्यात हुने प्रमुख कृषि उपज चिया नेपालबाट विश्वका ३१ मुलुकमा पुग्छ, जसमध्ये ग्रीन टी, अर्थोडक्स र सीटीसी चिया निर्यात हुने गरेको छ ।
वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार गत वर्षमात्र नेपालबाट १ करोड ३२ लाख ८९ हजार किलो चिया निर्यातबाट २ अर्ब ४० करोड रकम भित्रिएको छ । यो औपचारिक नाकाबाट निर्यात भएको चियाको तथ्यांक हो ।
खुला सिमाना रहेका कारण नेपालको चिया अनौपचारिक नाकाबाट भारत निकासी हुने र भारतमा दार्जिलिङको चियाको नाममा प्याकेजिङ गरी नेपाली चिया तेस्रो मुुलुकमा पठाइने गरेको चिया उत्पादकहरू बताउँछन् ।
नेपालमा बर्सेनि २ करोड ५० लाख किलो चिया उत्पादन हुने गर्छ । उत्पादित चियामध्ये ५० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी निर्यात हुने गर्छ । केन्द्रका अनुसार गत वर्ष १ करोड ३३ लाख किलो विभिन्न मुलुकमा निर्यात भएको थियो भने अघिल्लो वर्ष १ करोड ११ लाख किलो निर्यात भएको थियो ।
आव ०७०/७१ मा १ करोड १४ लाख किलो चिया निर्यात भएको थियो । भन्सार विभागको गत वर्षको तथ्यांकअनुसार सबैभन्दा बढी चिया निकासी भारतमा भएको छ । विभागका अनुसार गत वर्ष भारतमा मात्र एक करोड किलो चिया निर्यात भएको छ ।
भारतपछि सबैभन्दा बढी ८२ हजार ४ सय किलो जापान र ७३ लाख किलो जर्मनीमा निर्यात भएको छ । चिया निर्यात हुने अन्य मुलुकहरूमा पाकिस्तान, चेक रिपब्लिक, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलियालगायत छन् ।
नेपालको चिया र कफीको माग विश्वभर रहेकाले गुणस्तर सुधार, उत्पादन लागत कम गर्ने र उत्पादन वृद्धिका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।
नेपाली चिया गुणस्तरीय रहेकाले विश्वमा माग पनि बढी रहेको व्यवसायीहरुको भनाइ छ ।
“नेपाली चिया ‘भर्जिन ल्यान्ड’ मा उत्पादन हँुदै आएकाले विश्वमा माग बर्सेनि बढ्दो छ, उत्पादन पनि बढिरहेको छ,” चिया उत्पादक उदय चापागाईं भन्छन्, “गत वर्ष १ करोड ८० लाख किलो सिटिसी चिया त झापामा मात्र उत्पादन भएको छ, पूर्वी पहाडमा मात्र ४० लाख किलो अर्थोडक्स चिया उत्पादन भएको छ ।”
उनले भारतीय बजारमा चिया बिक्री गर्दा मात्र नभई तेस्रो मुलुकमा चिया निर्यात गर्दासमेत गत वर्षदेखि भारतीय अधिकारीले विभिन्न बहानामा निर्यातमा अवरोध गर्न थालेको गुनासो गरे । कारोबार दैनिकमा खबर छ ।
प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार ०७:४९