सुर्खेत, २ कात्तिक । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले चौकुने सिमेन्ट उद्योगको काम अगाडि नबढाए सुमार्गीले पाएको लाइसेन्स रद्ध गर्नु पर्ने बताएका छन् । उनले चौकुने सिमेन्ट उद्योगको काम नहुँदा पश्चिम सुर्खेतको विकास पनि बन्द भएको भन्दै काम नगरे लाइसेन्स रद्ध गर्नु पर्ने बताएका हुन् ।

बावियाचौर स्पोर्ट्स क्लवले आयोजना गरेको बावियाचौर च्यालेन्ज कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीसहितका नेताहरु ।
तस्बिर : नरेश थापा
मन्त्री थानीले भने, ‘चौकुने सिमेन्ट उद्योगको लाइसेनस पाएको सुकामार्गीले कि त काम सुरु गर्नु पर्छ होइन भने उनले पाएको लाइसेन्स रद्ध गर्नु पर्छ ।’ उनले माथिल्लो कर्णाली र चौकुने सिमेन्ट उद्योग स्थापना हुन सके जिल्ला तथा मुलुकको नै कायापलट हुने ठोकुवा गरे ।
पश्चिम सुर्खेतको बावियाचौरमा एक फुटबल प्रतियोगिताको उद्घाटन गर्न पुगेका मन्त्री थानीले खेलको नियम पालना नगर्दा देशको विकास हुन नसकेको समेत टिप्पणी गरे । उनले भने, ‘खेलमा जस्तै राजनीतिमा पनि हारजित हुन्छ भन्ने कुरालाई राजनीतिक दलहरुले स्वीकार गर्न नसक्दा समस्या भयो ।’
बावियाचौर स्पोर्ट्स क्लवद्वारा आयोजित बावियाचौर च्यालेन्ज कप फुटवल प्रतियोगिताको सोमवार उद्घाटन गर्दै सुर्खेत मन्त्री थानीले पश्चिम सुर्खेतको विकासका लागि सबै दल एक जुट हुन आग्रह गरे । उनले भने, ‘कुनै दल वा कुनै एक व्यक्तिले विकास गर्ने भए विकास भइसक्ने थियो, तर त्यो भएन अब सबै एकजुट हुनु पर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री थानीले विकासमा थुप्रै बजेट आएपनि सदुपयोग हुन नसकेकोले अव भने नागरिकलाई बजेट कहाँ जान्छ भनेर निगरानीसमेत गर्न अपिल गरे । उनले भने, ‘आफ्नो क्षेत्रमा आएको बजेट कहाँ जान्छ भनेर तपाईंहरुले निगरानी गर्नुस्, किनकि त्यो बजेट तपाईंले दिएको करबाट उठेको हो ।’
सुर्खेत ६ नं. प्रदेशको सम्भावित केन्द्र भएकोले यसलाई पूर्वाधारसम्पन्न बनाउनका लागि जिल्लाका तीन वटै क्षेत्र विकासित हुनुपर्ने मन्त्री थानीको भनाइ छ । उनले धुलियाविटदेखि बांगेसिमलसम्मको सडक फोरलेन, बस्तीपुरदेखि बांगेसिमलको हटलाइन सडक टु लेन, कोहलपुरदेखि सुर्खेत सडक टुलेन, भेरीको पानी लिफ्ट गरेर उपत्यकामा खसाल्ने जस्ता ठूला आयोजनाहरु सुरु भइसकेको जानकारी दिए ।
बावियाचौर पश्चिम सुर्खेतको केन्द्रविन्दु भएकोले रंगशाला बनाउन र खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।
कार्यक्रममा पूर्वमन्त्री शिवराज जोशीले विकास एक्लैले हुन नसक्ने भन्दै सामूहिक भावनाबाट मात्र हुने बताए । पूर्व राज्यमन्त्री एवं सांसद खड्गबहादुर बस्यालले पश्चिम सुर्खेत अव खेलकुदको माध्यमबाट अगाडि बढाउन युवाहरुले चालेको कदमको सह्राना गरे ।
बाबियाचौर स्पोर्ट्स क्लवका अध्यक्ष क्षितिज थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सभापति कमलराज रेग्मी, एमाले सचिव मोहन बडुवाल, नेकपा माओवादी केन्द्रका केशव शाही, राप्रपाका अध्यक्ष कविराम पुरी, फोरम लोकतान्त्रिकका अध्यक्ष दिपबहादुर नेपाली, गाविस भद्रबहादुर थापा, राष्ट्रिय खेलाडी भूपेन्द्र खत्री, स्थानीय संघसंस्थाहरुका तर्फबाट कृपाराम थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक पूर्णबहादुर रावलले जानकारी दिए । उनका अनुसार प्रथमलाई ५५ हजार ५५५, द्वितीयलाई २५ हजार ५२५ र तृतीयलाई १५ हजार ५१५ रुपैयाँ नगद पुरस्कारसहित कप र मेडल दिइनेछ ।
प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार ०७:५२