जुम्ला, २२ असोज । चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिकले चौमासिक सामाजिक सुरक्षा भत्ता पाउन नसक्दा यो वर्षको दसैँ उनीहरुका लागि नरमाइलो हुने भएको छ ।
सरकारले ज्येष्ठ नागरिकका लागि बैंक खाता खोल्न यसअघि नै परिपत्र गरे पनि त्यसको सही पहल बेलैमा नगरपालिकाले नगरेका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित भएका हुन् ।
सुरक्षा भत्ता उपलब्धताका लागि नगरपालिकालाई पटक पटक घचघच्याउँदा पनि चासो नदेखाएकाले साउनदेखि कात्तिकसम्मको चौमासिक भत्ता खान वञ्चित भएको जिल्ला ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले दुखेसो पोखे । “नगरपालिकाले सुरुका दिनमा कुनै वास्ता राखेन र पछिल्लो छोटो समयमा बैंकले खाता खोल्न नसक्ने बताए । जसका कारण नगरपालिकाका १५ वटै वडाका ज्येष्ठ नागरिक, पूर्ण/आंशिक अशक्त अपाङ्ग, असहाय विधवा रित्तो हात घर फर्कनुपरेको छ – उनले भने ।
सङ्घका सदस्य गोइली थापाले कर्मचारीहरुले लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता दिने चाँजोपाँजो मिलाउन नसकेको आरोप लगाए । जिल्लाका सबै गाविसले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइसक्दा नगरपालिकाले हामीलाई अन्यायमा पार्नु ठूलो कमजोरी रहेको उहाँले रोष प्रकट गरे ।
यसैगरी खाता सञ्चालनका लागि तीन घन्टाको पैदल हिँडेर दुईपटक बजार आउँदा पनि खाता सञ्चालन हुन नसक्दा भारी मन लिएर घर फर्कनुपरेको चनानपा–११ का धनबहादुर शाहीले गुनासो गरे । शाहीले आफ्नो मात्र एक छोरा, ऊ पनि घरमा नभएकाले यो दसैँ तिहार आफ्ना लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैँ हुने बताए ।
नगरपालिकाका खरिदार जयशर्मा आचार्यले खाता सञ्चालनका लागि सम्झौता गरेका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाडौँ, नेपाल इन्भेष्टमेन्ट, साङ्ग्रिला र सिटिजन बैंकले ढिलाइ गरेका कारण यो समस्या आएको बताउनुभयो । तथापि दसैँपछि लगत्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको समस्या यथाशीघ्र हल गर्ने उनको भनाइ छ ।
ज्येष्ठ नागरिक, पूर्ण/आंशिक अशक्त अपाङ्ग र असहाय विधवा महिला गरेर एक हजार ९०० जना यसबाट प्रभावित भएको र उनीहरुका लागि आएको पहिलो चौमासिक रु एक करोड ६७ लाख थन्केको नगरपालिकाले जनाएको छ ।
रासस